रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

पोखराको सूर्यदर्शन सहकारी ठगी काण्डमा लामिछानेसहित ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो माग दाबी गरिएको छ

जनसम्मत
पौष २, २०८१, मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

कास्की जिल्ला अदालतले मंगलबार सहरकारीको रकम अपचलन गरेको अभियोगमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएपछि उनलाई आज (मंगलबार) आठौं पटक अदालत उपस्थित गराइएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी काण्डमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ।

ती ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो माग दाबी गरिएको छ।

सो प्रतिवेदन सरकारी वकिलले अध्ययन गर्न समय लाग्ने भएकाले रविमाथि अनुसन्धानका लागि थप ४ दिन म्याद थपिएको हो।