कर्णाली याक्स फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले–अफ’ मा पुगेको छ।
सुदूरपश्चिमसँग हारेपनि कर्णालीले नेट रन रेटमा काठमाण्डौ गुर्खाजलाई पछि पार्दै ‘प्ले–अफ’ मा पुगेको हो।
काठमाण्डौ भने जारी एनपीएलको लिग चरणबाटै बाहिरिएको छ ।
काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि टियु क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो।
सूदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए।
यसैगरी, ईशान पाण्डेले ३८ रन जोड्दै नटआउट रहे।
कर्णालीका कप्तान सोमपाल कामी र विपिन शर्माले समान १÷१ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २० ओभरमा १०१ रन बनाउँदा अलआउट बन्यो।
कर्णालीका जीशन मक्सूदले सर्वाधिक ३० रन बनाए।
सूदूरपश्चिमका हरमीत सिंहले ३ विकेट लिए।
कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र भेट्टाएको भए काठमाण्डौ –प्ले–अफ’ मा पुग्ने समीकरण बनेको थियो।
योसँगै एनपीएलको ‘प्ले–अफ’ समीकरण पूरा भएको छ।
यसअघि, जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज ‘प्ले–अफ’ मा पुगिसकेका छन्।
अब पर्सि (बुधवार) इलिमिनेटरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली खेल्नेछन्।
यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ।
हार्ने टोली एनपीएल क्रिकेटबाट हिरिनेछ।
पर्सि (बुधबार) नै दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच खेल हुनेछ।
यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ।
हार्ने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ।
दोस्रो क्वालिफायर खेल आउँदो बिहीवार दिउँसो १२ बजे हुनेछ।
यो खेलको विजेता फाइनलमा पुग्नेछ।
हार्ने टोली जारी एनपीएलबाट बाहिरिनेछ।
फाइनल खेल आउँदो शनिवार हुनेछ।