लमजुङको सुन्दरबजारमा ‘बौद्धिक अपांगता भएका व्यक्तिबारे वकालत’ कार्यक्रम

अन्नपूर्ण बौद्धिक मन्दता अभिभावक संघ लमजुङको आयोजनामा सो नगरपालिकाको स्थानीय सरकार तथा जनप्रतिनिधिहरुसँग ‘बौद्धिक अपांगता भएका व्यक्तिबारे वकालत’ गरिएको हो

जनसम्मत
पौष ४, २०८१, बिहीवार

लमजुङको सुन्दरबजारमा ‘बौद्धिक अपांगता भएका व्यक्तिबारे वकालत सबाल विषयक वकालत’ कार्यक्रम गरिएको छ।

लमजुङको अन्नपूर्ण बौद्धिक मन्दता अभिभावक संघ लमजुङले (बुधबार) सुन्दरबजार नगरपालिकाको सभाहलमा सो नगरपालिकाको स्थानीय सरकार तथा जनप्रतिनिधिहरुसँग उक्त कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा बौद्धिक मन्दता भएका व्यक्तिहरुको पहिचान, त्यस्ता व्यक्तिहरुलाई घर–परिवार र समाजले गर्नुपर्ने व्यवहार एवं उनीहरुलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा अन्नपूर्ण बौद्धिक मन्दता अभिभावक संघका अध्यक्ष श्रीकृष्ण घिमिरेले कार्यक्रमको औचित्यबारेमा प्रकाश पारे।

साथै, हालसम्म लमजुङ जिल्लाका विभिन्न स्थानीय तहमा बौद्धिक मन्दता भएका व्यक्तिहरुका लागि संस्थाले गरेका कार्यक्रमबारे घिमिरेले जानकारी दिए।

यसैगरी, बौद्धिक मन्दता अभिभावक महासंघका कर्मचारी रुषा कार्कीले अहिलेसम्म गरिएका प्रयास, स्थानीय तहसँग समन्वय गरी गरिएका क्रियाकलाप र अबको अवस्थामा गर्नुपर्ने विषयबारे सहजीकरण गरिन्।

कार्यक्रममा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला, उपप्रमुख भवानी केसी, उपसचिव ठाकुरजी तिवारी, महिला विकाश शाखा प्रमुख निर्मला पौडेल, प्रशासन शाखा प्रमुख विवेक पण्डित, वडा नं. १, ३, ६, ८ र १० का वडाध्यक्षहरुलगायतको उपस्थिति थियो।