अबदेखि, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सेवा

कार्तिक १५ गतेदेखि कामको शिलशिलामा ५२ हजार स्वास्थ्य स्वंसेविकाहरुले निःशुल्क रुपमा सार्वजनिक यातायात सेवा लिन पाउनेछन्

जनसम्मत
कार्तिक २, २०८१, शुक्रबार

अब, ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुले निःशुल्क यातायात सेवा पाउँदैछन्।

यो असरसँगै, स्वास्थ्य प्रयोजनका लागि महिला स्वास्थ्य स्वयंसेविकाले सार्वजनिक यातायात सेवामा निःशुल्क चढ्न पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको समन्वय र संवादमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा महिला स्वास्थ्य स्वयंसेविकाहरु भाडा नलिने घोषणा गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सार्वजनिक यातायात प्रयोग गर्न पाउनेगरी आज (शुक्रबार) समझदारी भएको हो।

सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुनेछन्।

यसका लागि महिला स्वास्थ्य स्वयंसेविकाले पोशाक लगाउनुपर्ने वा परिचयपत्र बोक्नुपर्नेछ।

स्वास्थ्यमन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकालाई कामका शिलशिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए।

स्वास्थय मन्त्री पौडेलको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भएपछि समझदारी भएको हो।

कार्तिक १५ गतेदेखि उक्त व्यवस्था लागु गर्न मन्त्री पौडेलको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाएका छन्।

मन्त्री पौडेलले भने, ‘महिला स्वास्थ्य स्वयंसेविकाले देशको स्वास्थ्य क्षेत्रमा गरेको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण छ। आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत यातायात महासंघप्रति आभार व्यक्त गर्दछु।’

महासंघका अध्यक्ष स्वाँरले मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेकाले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए।

महिला स्वास्थ्य स्वयंसेविकाको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले कामको शिलशिलामा सार्वजनिक यातायात निःशुल्क प्रयोग गर्न पाउनु महत्वपूर्ण भएको औंल्याइन्।