लमजुङको क्व्होंलासोथार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका हुन्।
साथै, मन्त्री गुरुङले आज (बिहीबार) सो गाउँपालिकाको वडा नं २ मालिङस्थित प्रशासकीय भवन र सोही ठाउँमा नवनिर्मित मालिङ प्राथमिक अस्पताल भवनको समेत एकसाथ उद्घाटन गरे।
गण्डकी प्रदेश सरकारको २ करोड र गाउँपालिकाको २ करोड गरी ४ करोड १४ लाख १२ हजार ९३९ रुपैयाँको लागतमा भवन निर्माण भएको हो।
२ रोपनी ४ आना जग्गामा भवन बनेको हो।
नवनिर्मित भवनमा ३६ कोठा छन्।
लमजुङको क्व्होंलासोथार, संचारमन्त्री गुरुङको गृह पालिकासमेत हो।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले लमजुङ जिल्लालाई यो वर्ष पूरै सूचना प्रविधिमैत्री बनाउने बताएका छन्।
नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुवाती थलोको रुपमा आफ्नै गृह जिल्ला लमजुङबाट सुरु गर्न लागेको जानकारी दिए।
मन्त्री गुरुङले लमजुङका प्रत्येक घर–घरमा इन्टरनेट र टेलिफोन सेवा पुराउने उल्लेख गरे।
मन्त्री गुरुङले सुनाए, ‘संचार मन्त्रालयले देशैभरी इन्टरनेट कनेक्सन र टेलिफोन विस्तार गर्ने अभियानमा छ। यसै सन्दर्भमा यो वर्ष लमजुङ जिल्लालाई पूरै प्रविधि मैत्री बनाउन इन्टरनेट तथा टेलिफोन सुविधा विस्तार गर्ने योजना छ।’
उनले इन्टरनेट र टेलिफोन विस्तारपछि सरकारी कार्यालयमा सूचना प्रविधिमार्फत सेवा प्रदान गरेर आधुनिक प्रशासन प्रणालीमा जोड दिन लागिएको समेत जानकारी गराए।
‘छिट्टै नेपाल टेलिकमका कर्मचारी आएर यहाँको टेलिफोन नेटवर्कको सर्वे गर्नेछन्। अब, लमजुङका सबै घर–घरमा इन्टरनेट र टेलिफोन सेवा सुचारु हुनेछन्’, उनले भने।
अहिलेको समय आइटीको समय भएकाले विद्यालय शिक्षा प्रविधियुक्त बनाउन लमजुङका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब उपलब्ध गराउने समेत बताए।
हालसम्म, लमजुङका १० सामुदायिक विद्यालयमा १०÷१० थान कम्प्युटर उपलब्ध गराइसकेको समेत उनले उल्लेख गरे।