तनहुँको चन्द्रावती माविले ६१ औँ वार्षिकोत्सव मनाउने तयारी

२०४५ सालको १० कक्षा ब्याचका पूर्व विद्यार्थीकातर्फबाट १ लाख रुपैयाँ बराबरको प्रोजेक्टर र शैक्षिक सामग्री प्रदान गर्नुका साथै २ लाख रुपैयाँ बराबरको जुनियर रेडक्रस प्राथमिक स्वास्थ्य अक्षय कोषसमेत स्थापना गर्ने कार्यक्रम छ

जनसम्मत
पौष ५, २०८१, शुक्रबार

तनहुँको भानु नगरपालिका–७ चुँदी टुहुरे पसलस्थित चन्द्रावती उच्चमाध्यमिक विद्यालयले आफ्नो ६१ औँ वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ।

विद्यालयले आफ्नो ६१ औँ स्थापना दिवस भोली (शनिबार) पुस ६ गते विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो।

तनहुँ जिल्लाको दोस्रो हाइस्कूलका रुपमा स्थापना भएको उक्त विद्यालयमा अध्ययन गरेका २०४५ सालमा १० कक्षा ब्याचका विद्यार्थीहरूले विद्यालयको शैक्षिकस्तर वृद्धि र सुधारका लागि १ लाख रुपैयाँ बराबरको प्रोजेक्टर र शैक्षिक सामग्री प्रदान गर्न लागेको पूर्व विद्यार्थी समिर पण्डितले जनाकारी दिएका छन्।

वार्षिकोत्सवका अवसरमा २०४५ सालमा १० कक्षा ब्याचका पूर्व विद्यार्थीकातर्फबाट २ लाख रुपैयाँ बराबरको जुनियर रेडक्रस प्राथमिक स्वास्थ्य अक्षय कोष समेत स्थापना गरिने छ।

सो अवसरमा २ लाख रुपैयाँ बराबरको जुनियर रेडक्रस प्राथमिक स्वास्थ्य अक्षयकोष स्थापना गरिनेछ।

सो ब्याचले आफूहरुलाई अध्यापन गराएका गुरुहरुलाई दोसल्लासहित सम्मानपत्रमार्फत सम्मान गर्ने कार्यक्रम छ।

उक्त विद्यालयबाट माध्यमिक शिक्षा अध्ययन पूरा गरेका सिनियर तथा जुनियर संपूर्ण विद्यार्थीहरुलाई आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनमा हातेमाले गर्दै संयुक्त रुपमा भूतपूर्व विद्यार्थी समाज गठन गरी शैक्षिक गतिविधिमा आ–आफ्नो स्थानबाट सहयोग गर्न एसएलसी २०४५ ब्याचले आह्वान गरेको छ।

६१ वर्षअघि २०२१ सालमा पञ्चायती शासन कालमा त्यस क्षेत्रका शिक्षित युवाहरु मदन शर्मा, विजयराज आचार्य, भीमबहादुर अधिकारी, कुलप्रसाद खनाल, बासुदेव ढकाल, मेदिनीप्रसाद शर्मा पण्डित, शेषरमण खनाल, विश्वनाथ ढकाल, गंगाबहदुर कार्की, पूर्णभद्र पण्डित,  भुवनसिंह थापा, भोजराज खनाल, बनमाली शर्मालगायतका युवाहरुको सक्रियतामा पहिलो पटक मदन शर्माको काठमाडौंस्थित निवासमा बैठक बसेर विद्यालय खोल्ने निर्णय गरेको थियो।

त्यसपछि, सो टोली काठमाडौंबाट तनहुँ फर्किएर विद्यालय खोल्ने विषयमा तत्कालीन १२ वटा गाउँपञ्चायतको बैठक तनहुसुर गाउँ पञ्चायतमा बसेको थियो।

संयोजक देवीभक्त वाग्लेको अध्यक्षतामा बसेको बैठकले काठमाडौमा भएको निर्णय अनुसार चन्द्रावती हाईस्कुल नामाकरण गरी सो विद्यालय स्थापना भएको थियो।