तनहुँ भानुका किसानलाई मोबाईल एपबाटै पशु र कृषिसम्बन्धी जानकारी

भानुका नगरप्रमुख आनन्द त्रिपाठी भन्छन्, ‘किसानका कुनै जिज्ञासा भए, अथवा कुनै समस्या भए मोबाईल एपमार्फत सहजीकरण गर्न सकिन्छ’

जनसम्मत
पौष ५, २०८१, शुक्रबार

भानु नगरपालिकाले नगरपालिकाभित्रका किसानले अब मोबाईलबाटै कृषि र पशुसम्बन्धी सूचना तथा जानकारी पाउने भएका छन्।

नगरपालिकाले आफ्नो पालिकाभित्रका किसानहरुलाई मोबाईलबाटै पशु र कृषिसम्बन्धी सूचना दिने मोबाईल एप सञ्चालन गरेको हो।

नगरपालिकाको कृषि तथा पशुशाखाले किसानका लागि सूचना, जानकारी, प्रविधि, सल्लाह, नगरपालिकाको कार्यक्रम, कृषि बुलेटिन, मौषमको जानकारी, कृषि तथा पशुको बीमा, सेवा–प्रवाह, गुनासो तथा सुझावलगायतको जानकारी मोबाईल एपमार्फत लिन सकिने कृषि शाखाका प्राविधिक अमित ढुंगानाले जानकारी दिएका छन्।

किसानहरुका हरेक जिज्ञासा, समस्या र त्यसको समाधानको उपाय, विभिन्न कार्यक्रम लगायतका किसानलाई प्रत्यक्ष प्रभाव पार्ने विषयवस्तुको जानकारी दिएर मैत्री कार्यक्रमका संचालन गर्नका लागि पनि मोबाईल कृषि एप महत्वपूर्ण हुने नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए।

उनको सुझाव छ, ‘किसानका कुनै जिज्ञासा भए, अथवा कुनै समस्या भए मोबाईल एपमार्फत सहजीकरण गर्न सकिन्छ।’