जनकपुर बोल्ट्स एनपीएल क्रिकेट च्याम्पियन

एनपीएलको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको हो

जनसम्मत
पौष ६, २०८१, शनिबार

जनकपुर बोल्ट्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको च्याम्पियन बनेको छ।

काठमाण्डौंकोको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा सूदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एनपीएल च्याम्पियन बनेको हो।

सूदूरपश्चिम रायल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो।

जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाए।

यस्तै, कप्तान आशिफ शेखले ३३ रन जोडे।

हर्ष थाकरले अविजित ३० रन थपे।

सूदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, सैफ जैब र इसान पाण्डेले समान १÷१ विकेट लिए।

त्यसअघि, त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सूदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो।

सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ६९ रन बनाए।

यस्तै, विनोद भण्डारीले ४१ रन जोडे।

जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान ३÷३ विकेट लिए।

यस्तै, ललित राजवंशी र जेम्स निशमले समान १÷१ विकेट लिए।

सूदूरपश्चिम अंकतालिकामा शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको थियो।

यसअघि, लिग चरणमा सूदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले हराएको थियो।

एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफीसहित १ करोड १० लाख पुरस्कार हात पारेको छ।

दोस्रो भएको सूदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँको पुरस्कारमा चित्त बुझाएको छ।

त्यस्तै, तेस्रो टोली कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको आयोजना गरेको हो।

गएको मंसीर १५ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ टोलीको प्रतिस्पर्धा थियो।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौं

गुर्खाज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्सले प्रतिस्पर्धा गरेका थि।

पहिलो पटक आयोजना भएको एनपीएलले नेपालको क्रिकेटलाई देशभित्र मात्रै नभई विदेशमासमेत चर्चा कमाएको छ।

भारतीय स्टार क्रिकेटर शिखर धवनलेसमेत कर्णाली याक्सबाट एनपीएल खेलेका थिए।

क्रिकेटका हस्ती ब्रायन लारालेसमेत एपनीएलको अवलोकन गरेका थिए।