सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) का नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले प्रसारणका विषयवस्तुहरुलाई नागरिक केन्द्रीत बनाउन निर्देशन दिएका छन्।
रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आज (बुधबार) आयोजित स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष डा. विष्टले भने, ‘राष्ट्रको आवश्यकताका आधारमा २ सरकारी संचार माध्यमहरु रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्था बनाइएकोले जनताका आवाज तटस्थ रुपमा आम नागरिकसम्म लैजानु यसको उद्देश्य रहेको छ।’
कार्यकारी अध्यक्ष डा. विष्टले रेडियो नेपालले दूर दराजमा रहेका जनतामाझ पुराइरहेको आवाजलाई अझ प्रभावकारी र तटस्थ ढंगबाट अगाडि बढाउन पीएसबीको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे।
अध्यक्ष डा. विष्टले भने, ‘सार्वजनिक सेवा प्रसारणको मर्मअनुसार रेडियो र टेलिभिजनका प्रसारण सामग्रीहरूलाई नागरिककेन्द्रीत गर्न आवश्यक रहेको छ।’
सार्वजनिक सेवा प्रसारण अभ्यासबाटै परिणाम दिन सकिने उनले औंल्याए।
‘सार्वजनिक सेवा प्रशारणमा रूपान्तरण हुने क्रममा आउने विभिन्न चुनौतीको सामना गर्दै सबैले आ आफ्नो जिम्मेवारी र दायित्व उत्साहपूर्वक निर्वाह गर्नुपर्छ’, अध्यक्ष डा. विष्टको आग्रह थियो।
कार्यकारी अध्यक्ष डा. विष्टले २००७ सालमा स्थापना भएको रेडियो नेपालले कला, संस्कृतिको क्षेत्रमा दिएको योगदानको स्मरणसमेत गरे।
‘रेडियो नेपालको ओजपूर्ण र गौरवमय इतिहासलाई थप उचाईमा लग्नुपर्छ’, उनले जोड दिए।
रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सकारात्मक भावनाको विकास र भावनात्मक एकता कायम गरेर मात्रै सार्वजनिक सेवा प्रसारणलाई सफल र प्रभावकारी बनाउन सकिने उल्लेख गरे।
‘पीएसबीका रुपमा दुई संस्थालाई सँगसँगै अगाडी बढाउन धेरै काम बाँकी रहेको र ती काम पुरा गर्न नवनियुक्त कार्यकारी अध्यक्ष डा. बिष्टको नेतृत्व महत्वपूर्ण रहन्छ’ नायव कार्यकारी निर्देशक खत्रीले भने।
नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम न्यौपानेले २ संस्थाका प्रसारणलार्ई सार्वजनिक प्रसारणका रुपमा प्रमाणित गर्न सबैको सहकार्य र समन्वयको आवश्यकता रहेको औंल्याए।
न्यौपानेले जोड दिए, ‘पीएसबीलाई सफल बनाउन समयानुकूल प्रविधिको प्रयोग गर्नुपर्छ। उत्पादनशील काममा इमानदारिका साथ लाग्नुपर्छ। र संस्थाको हित हुनेगरी सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्छ।’
रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्रभुषणलाल दासले सार्वजनिक सेवा प्रसारण संस्थालाई प्रभावकारी बनाउन सबैले मिलेर आफ्नो दायित्व पूरा गर्नुपर्ने कुरामा जोड दिए।
नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई रेडियो नेपालका नायव कार्यकारी निर्देशकहरू खगेन्द्र खत्री र चन्द्रभुषण लाल दास, नेपाल टेलिभिजनका नायब महाप्रबन्धक बिष्णुराम न्यौपानेलगायत दुवै संस्थाका कर्मचारीहरूले स्वागत गरेका थिए।
कार्यकारी अध्यक्ष डा. विष्टले नेपाल टेलिभिजनमा रहेको पीएसबीको सचिवालयमा हिँजो (मंगलबार) पदभार ग्रहण गरेका थिए।
डा. विष्टललाई मंसीर २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक सेवा प्रसारण संस्था–पिएसविको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।