नेपाल टेलिभिजन र रेडियो नेपाल दुवै संस्था सार्वजनिक सेवा प्रसारण संस्था पीएसबीसँग जोडिएका छन्।
अनि, दुबै संस्था जोडिएसँगै त्यसमा काम गर्ने कर्मचारीहरुको भविष्यपनि एकसाथ जोडिएको छ।
त्यसैले, पीएसबीलाई सफल बनाउन सवै लाग्नुपर्ने जिम्मेवारीसमेत छ।
राजधानी काठमाण्डौंस्थित सिंहदरबारभित्रको एक कार्यक्रममा नेपाल टेलिभिजनकर्मीहरुले एउटा साझा प्रतिबद्धता जनाएका छन्, ‘पीएसबीलाई सफल पार्नुछ।’
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा बक्ताहरुले यस्तो जोड दिएका हुन्।
पीएसबीको ऐतिहासिक अवसरलाई उपलव्धीमा परिणत गर्नुपर्ने उनीहरुको जोडदार प्रतिबद्धता छ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण संस्था नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले सम्पादकीय स्वतन्त्रतासहित नागरिकहरुलाई लाभ मिल्नेगरी पीएसबी कार्यान्वयन हुने औंल्याए।
डा विष्टको आग्रह थियो, ‘नेपाल टेलिभिजन र रेडियो नेपाल एक भएको अनुभूत गर्न सक्नुपर्छ। अनि, दुबै संस्थाको कार्यव्यबहारलाई सुधारसहितको परिणाममुखी बनाउनुपर्छ।’
प्रतिष्ठान शाखाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र पौडेलले व्यसायिक संस्थाको निर्वाचनमा सवैको जीत हुने बताए।
उनले भने, ‘भविष्यसँग जोडिएको पीएसबीलाई सफल बनाउन सबै एकजुट हुनुपर्छ।’
निवर्तमान अध्यक्ष दीपकजंग हमालले आफ्नो कार्यकालमा शाखा उत्कृष्ठ हुन सफल भएको स्मरण गराए।
कर्मचारीका बृत्ति विकाससहित पीएसबीको सफलतामा सबै जोडिनुपर्ने उनले उल्लेख गरे।