झण्डै, १९ महिनापछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा लागेको ताला खुलेको छ।
शुद्धीकरण पछि सदस्यता विवादका कारण असार २०८० मा लगाइएको ताला सहमति बनेपछि (बिहिबार) खुलेको हो।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा नवनिर्वाचित कार्यसमिति आएपछि दुवै पक्षको सहमतिमा ताला खुलेको हो।
पत्रकारितामा क्रियाशील भएका कोही छुटेको भएमा र मापदण्ड पूरा गरेका क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्ने सहमति बनेसँगै दुवै पक्षको सहभागितामा ताला खुलाइएको हो।
गत मंसीर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा अनिल खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो।
नवनिर्वाचित कार्यसमितिले महासंघको कार्यालयमा लागेको ताला खुलाउन आन्दोलनरत् पक्षसँग निरन्तर संवाद गरेको थियो।
संवादले हिँजो (बिहिबार) दिउँसो मूर्तरुप लियो।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले महासंघको काममा आफूहरुको अवरोध गर्ने उद्देश्य नरहेकोले छलफलबाट नै निष्कर्ष निकाल्न चाहेको बताएका छन्।
उनले नियतबस सदस्यबाट हटाएकोमा भने आपत्ति जनाए।
महासंघको संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले भनेका छन्, ‘अब मिलेरै काम गर्ने हो। क्रियाशील र मापदण्ड पुगेका पत्रकारलाई सदस्यता तथा संस्थापकलाई मानार्थ सदस्यता दिनेगरी सहमति भएपछि ताला खुलेको छ।’
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका नवनिर्वाचित अध्यक्ष अनिल खत्रीले सबैसँग सहकार्य गरेर अगाडी बढ्ने उल्लेख गरेका छन्।
आन्दोलनरत पक्षको स्वागतयोग्य निर्णयलाई उच्च सम्मान गर्दै अब महासंघले सहमति, सहकार्य र एकताबाटै काम गर्ने औंल्याए।
महासंघमा नवनिर्वाचित कार्यसमितिले तालाबन्दीकै कारण पदभार ग्रहण गर्न पाएका थिएन।
अब, पत्रकार महासंघ गुल्मी शाखा तालाबन्दी खुलेसँगै पदभारको कार्यक्रम गर्ने तयारीमा छ।
नेपाल पत्रकार महासंघ, गुल्मीको अधिवेशनमा अनिल खत्री अध्यक्ष पदमा निर्वाचित भएका छन्।
खत्री, काँग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीको ठूलो संगठनका साझा प्यानलबाट अध्यक्षमा विजयी बनेका हुन्।
माओवादी निकट प्रेस सेन्टर नेपालबाट अध्यक्ष पदका उमेदवार बनेका तिलाचन पाण्डेले भन्दा २ मत बढिले खत्री विजयी बनेका हुन्।
त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा प्रेस युनियनका सुमन महतारा र महिला उपाध्यक्षमा प्रेस चौतारीकी गगनशिला खड्का विजयी भएका छन्।
सचिवमा पनि प्रेस युनियनकै सन्तोष महतारा विजयी भएका छन।
सह–सचिवहरुमा प्रेस चौतारीका मनोज कार्की र प्रेस युनियनका मनबहादुर सुनार विजयी भएका छन्।
कार्यसमिति सदस्यहरुमा प्रेस सेन्टरका आश्विन बोहोरा (महेश) समेत विजयी भएका छन्।
पत्रकार महासंघ गुल्मीमा शुद्धिकरण पश्चात २५ जना साधारण सदस्य छन्।
सदस्यता बिवादका कारण पत्रकार महासंघ गुल्मीको जिल्ला अधिवेशनसमेत आफ्नै भवनमा हुन सकेको थिएन।