गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।
गोरखा उद्योग बाणिज्य संघ गोरखाको ४९ औं बार्षिक साधारण सभा एवं १७ औ अधिवेशनलाई आज (शुक्रबार) सदरमुकाममा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विकास र सम्बृद्धिका लागि निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न सरकार तयार रहेको औंल्याए।
मुख्यमन्त्री पाण्डेले भने, ‘स्थानीय उत्पादनलाई विश्वबजारसँग जोड्नका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ। निजी क्षेत्र र सरकारले पहिले के गर्ने भनेर केन्द्रीकृत भएर काम गर्न सके आर्थिक क्षेत्रमा देखिएको धेरै समस्यालाई पनि हल गर्न सकिन्छ।’
उनले ग्रामीण क्षेत्रमा पर्यटन र कृषि क्षेत्रमार्फत प्रशस्त रोजगारीका अवसरहरु सृजना गर्न सकिने उल्लेख गरे।
सरकारले त्यसतर्फ ध्यान दिएको बताउँदै मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रले पनि यसलाई प्राथामिकतामा राख्नुपर्नेमा जोड दिए।
प्रदेश सरकारले निजी क्षेत्रका लागि गर्नुपर्ने काम र जिम्मेवारी पूरा गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता जनाए।
‘नेपाल मात्र नभई विश्व अर्थतन्त्रमा पनि आर्थिक मन्दीले छोएको छ। यसलाई सुधार गर्नका लागि बर्षौदेखिका बन्द उद्योगधन्दालाई कसरी संचालन गर्न सकिन्छ भनेर कोसिस गरिरहेका छौं’, उनले उल्लेख गरे।
मुख्यमन्त्री पाण्डेले स्रोत र साधनका अभावका कारण जनताले अपेक्षा गरेअनुसार प्रदेश सरकारलाई काम गर्न कठिन भइरहेको समेत प्रतिक्रिया दिए।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्रका सवै वडामा मुख्य सडक र गाउँपालिकाको केन्द्रसँग जोड्ने सडक निर्माणका लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको बताए।