सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट

सामूहिक एकता र प्रयासले समाज र राष्ट्रको उत्थान संभव रहेको प्रमुख भट्टको भनाई

जनसम्मत
पौष ६, २०८१, शनिबार

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको औंल्याएका छन्।

सामाजिक संघसंस्थाले संगठित नागरिकको भूमिका निर्वाह गर्ने हुँदा मुलुक निर्माणमा सामाजिक संघसंस्था महत्वपूर्ण रहेको उनको भनाई छ।

धादिङ–पोखरा सम्पर्क समाजको कार्यक्रममा प्रमुख अतिथि भट्टले कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिको निर्माणले समाजिक संस्था प्रभावकारी रूपमा अघि बढ्ने उल्लेख गरे।

‘संस्थालाई कानुन बमोजिम संचालन गरी समाजको आचारसंहितालाई अंगीकार गर्दै सामाजिक मूल्य मान्यतालाई अनुशासितरुपमा आत्मसात गर्दै उद्देश्यअनुरुप अघि बढ्नुपर्ने हुन्छ। यसरी नै सामूहिक एकता र प्रयासले समाज र राष्ट्रको उत्थान संभव छ’, प्रदेश प्रमुख भट्टले भने।

छिमेकी बागमती प्रदेशको धादिङ जिल्लादेखि पोखरामा आएर बसोबास गर्ने करीब ४० हजार धादिङबासीसँग जोडिएको यो अभिभावकीय संस्थाले सामाजिक क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको उनले बताए।

भट्टले सुनाए, ‘धादिङ जिल्ला विशेषगरी कृषिबाट परिचित छ। यहाँसम्म धादिङका कृषि उब्जनी, तरकारी आइपुग्छन्। पोखराको भान्सा–भान्सासम्म धादिङबासीको मेहनत पुगेको छ। यहाँ मजदुरदेखि माथिल्लो तहसम्म धादिङबासीले सेवा गरिरहेको पाएको छु। अन्तर जिल्ला समाजमध्ये पहिले स्थापित धादिङ–पोखरा समाज आफ्नो सामाजिक कार्यकै कारण यहाँको अग्रणी समाज बन्न सकारात्मक सहयोग पुगेको हुनुपर्छ।’

सामाजिक कार्यमा अग्रसर धादिङ–पोखरा सम्पर्क समाजले धादिङका विभिन्न ७ वटा विद्यालयमा अक्षयकोष स्थापना गरिसकेको छ। समाजले नियमित रुपमा रक्तदान कार्यक्रम, भित्तेपात्रो प्रकाशन, शुभकामना आदानप्रदान, ज्येष्ठ नागरिक सम्मान, वृद्धाश्रममा सहयोग प्रदानलगायतका कार्यक्रम गर्दै आएको छ।

दुर्घटनामा परेका तथा गंभीर बिरामी परेका सदस्यहरुलाई अस्प्तालमा स्वास्थ्य उपचारमा छुटको पहलदेखि आर्थिक संकलनमा पनि समाज जुट्दै आएको छ।

समाजको उत्कृष्ट कार्यक्रमकै कारण रेडक्रस सोसाइटीबाट ३ पटकसम्म समाज सम्मानित भइसकेको छ।