स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा अस्पतालमा चिकित्सकहरु नभेटिए कारबाही गर्ने तयारी गरेको छ।
मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाई हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरे कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन्।
आजकल अस्पतालमा काम गर्ने डाक्टरहरु रेजिडेन्स डाक्टरहरुको भरमा छाडेर हाँजिर गरी निजी अस्पतालमा धाएको गुनासो आएपछि कारवाही सुरु गर्न लागिएको हो।
त्यसका साथै यसअघि नै व्यवस्था गर्न भनिएको विद्युतीय हाँजिरी अनिवार्य गर्ने अस्पतालहरुले आलटाल गरेकोप्रति पनि मन्त्री पौडेलले चासो देखाएको मन्त्रालयले जनाएको छ।
मन्त्री पौडेलले नियमित रुपमा हेल्लो स्वास्थ्यमा आएका गुनासाहरु सुनेपछि मन्त्रालयले मातहतका सबै अस्पतालहरुमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको छ।
कार्यालय समयमा बाहिर जानुपरे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन र कार्यालयमा आउँदा र जाँदा अनिवार्य रुपमा विद्युतीय हाँजिरी गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयहरुले अस्पताललाई निर्देशन दिएको छ।