यु–१९ महिला मैत्रीपूर्ण फुटबल खेलमा घरेलु नेपाल र पाहूना टोली भुटानले बराबरी खेलेको छ।
नेपालको यु–१९ वर्षमुनिको महिला टोलीले भुटानको सोही उमेरका महिला टोलीसँगको
मैत्रीपूर्ण फुटबलमा १–१ गोलको बराबरी नतिजा निकालेको छ।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा नेपालकी सुशीला केसीले गोल गरिन्।
त्यसैगरी, भुटानको तर्फबाट फुन्त्सो छोदेनले गोल गरिन्।
खेलमा नेपालले अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा सकिएको हो।
नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न भुटानको २ उमेर समूहका फुटबल टोली नेपाल भ्रमणमा छ।
यु–१९ र यु–१६ को गरी २ वटा उमेर समूहको महिला फुटबल टोली बुधबार नेपाल भ्रमणमा आएको हो।
यसअघि, गत (शुक्रवार) भएको खेलमा भुटानको १६ वर्षमुनिको महिला टोलीसँग नेपालको १६ वर्षमुनिको महिला टोलीले लज्जाजनक ५–१ गोलको हार खेपेको थियो।