विगतका वर्षमा जस्तै यस वर्षपनि यःमरी महोत्सव साथै सांस्कृतिक कार्यक्रमको तयारी थालिएका छ।
यही पुसको आउँदो १३ गते पोखरा–४ को गणेशटोलमा यस वर्ष पाँचौ संस्करणको यःमरी महोत्सवको आयोजना हुने भएको हो।
पोखरा महानगरपालिका–४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको पोखरामा आइतबार पत्रकार भेटघाटमा जानकारी दिइएको हो।
पोखराको पुरानो बजार गणेश टोल, रामकृष्ण टोललाई संरक्षण र प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिएका छन्।
महोत्सवमा नेवारी टिपिकल खाना–खाजाका परिकारलगायत मौलिक लाखे नाच, कुमारी नाचका साथै अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुत गरिने वडाध्यक्ष पराजुलीले बताए।
पराजुलीका अनुसार, महोत्सवअघि पोखरा–४ को कार्यालयबाट झाँकी निकालिनेछ।
पराजुली भन्छन्, ‘सडक, पानी, वत्ती मात्रै विकास होइन। संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपनि विकास हो।’
उनले पोखराको रामकृष्णटोलदेखि गणेशटोल, भीमसेनटोल, मोहरिया टोल हुँदै बागबजारसम्मको क्षेत्र नेवारी परम्परा र संस्कृतिको ऐतिहासिक ठाउँ भएकाले यसको संरक्षणका लागि पनि चाँडै योजनाबद्ध ढंगले काम गर्ने तयारी भएको बताए।
नेवाःखल कास्कीका अध्यक्ष असोक पालिखेले नेवारी कला र संस्कृतिको जगेर्ना गर्नका लागि पोखरा महानगरपालिकाको वडा नम्बर ४ ले महत्वपूर्ण योगदान दिएको बताए।
यःमरी महोत्सव सबैको साझा महोत्सवको रुपमा रहेको र यसको व्यापक प्रचार–प्रसारले अगामी दिनमा पोखरा सडक महोत्सवकै स्थान लिने पालिखेले बताए।
विभिन्न कला सांस्कृतिक सम्पदाहरुको धनी पोखराको प्राचीन गणेशटोललाई यःमरी महोत्सवले थप चिनाउने पालिखेको विश्वास छ।
महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित सांस्कृतिक कार्यक्रम गरिने नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताइन्।
उनका अनुसार महोत्सवमा यःमरीसहित नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरुको स्टल रहने अध्यक्ष बज्रचार्यले जानकारी दिइन्।
बज्राचार्यले यःमरी महोत्सवले पर्यटन प्रवद्र्धनमापनि योगदान दिने विश्वास व्यक्त गरिन्।
‘संस्कृतिको विविधता हाम्रो विशेषता हो। यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दा पर्यटनमापनि टेवा पुग्छ’, बज्राचार्यले सुनाइन्।
महोत्वसमा लोकदोहोरी गायक पशुपति शर्मासहितका कलाकारले विभिन्न प्रस्तुति दिने समेत पत्रकार भेटघाटमा जानकारी दिइएको छ।
यःमरी, नेवारी समुदायको निकै लोकप्रिय खाना–खाजाको परिकार हो। नेवारी भाषामा ‘य’ को अर्थ ‘मन’ परेको र ‘मरी’को अर्थ ‘रोटी’ हो। नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगीलगायत सामग्री राखेर योःमरी बनाइन्छ। नेवारी समुदायमा यो परिकारको विशेष महत्व छ। नयाँ धानको पहिलो परिकारका रुपमा यःमरी बनाइन्छ। मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन नयाँ धानको चामलबाट बनेको यःमरीलाई पूजा गरियो भने घरमा कहिल्यै अन्नको अभाव हुँदैन भन्ने नेवारी समुदायको जनविश्वास छ। पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाइन्छ। यस दिन नेवार समुदायले यःमरीको कुवेर, गणेश, लक्ष्मीलगायत विभिन्न भगवानको मूर्ति बनाएर चढाउने चलन छ। यसरी चढाएको यःमरी ४ दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन छ। यःमरीलाई औषधिका रुपमा पनि प्रयोग गरिने प्रचलन छ। विशेषगरी, नेवारी समुदायमा यसमा राखिने चाकु, तिल, मरिचले जाडोमा चिसोबाट बचाउन सहयोग गर्छ भन्ने जनविश्वास छ। आधुनिकतासँगै नयाँ पुस्ताले मन परेको रोटी अर्थात यःमरी बनाउन थोरैले जान्दछन्। पछिल्लो समय यःमरी लोप हुने अवस्थामा छ। त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन पोखराको नगर सभ्यतास्थलको परिचित पोखरा–४ को गणेशटोलमा यःमरीको महोत्सव नै आयोजना गर्नु परेको नेवा मिसा पुचः कास्की दाबी गर्दछ।