म्याग्दीको बेनी नगरपालिकामा ३०३ योजनाहरु कार्यान्वयनको चरणमा

वडास्तरीय २७१ मध्ये ४७ र नगरस्तरीय ३२ मध्ये ८ योजनाहरु ठेक्का प्रक्रियामा छन्

जनसम्मत
मंसिर ४, २०८१, मंगलवार

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ३०३ वटा पूर्वाधारसम्बन्धी योजना कार्यान्वयन गर्दैछ।

गत असारको नगर सभाबाट छनौट भई बजेट विनियोजन भएका वडास्तरीय २७१ मध्ये ४७ वटा सम्झौता र नगरस्तरीय ३२ मध्ये ८ वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ।

सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना छनौट भएका छन्।

वडास्तरीय १७ वटा योजना सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए।

वडास्तरीय ५ लाख रुपैयाँसम्मको बजेटका योजनाहरू वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको बेनी नगरपालिकाले १० वटामध्य ७ र ८ नम्बर बाहेकका वडामा उपभोक्ता समिति गठन गरेर कार्यान्वयनका लागि अभिमुखीकरण गराएको छ।

पूर्वाधार आयोजनाहरूका लागि १२ करोड ४३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा साउनदेखि कार्तिक महिनासम्म ४५ लाख ९६ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।

बेनी–अर्थुंगे तोरीपानी, बेनी–अर्थुंगे–पुलाचौर–भुतपानी, बेनी–लभ्लिहिल–ज्यामरुककोट, अर्थुंगे–पुलाचौर, महारानीथान–छाप डाडाखेत, बेनी–अुर्थंगे–तोरीपानी–पात्लेखेत सडक, खबरा र पुलाडाडा पुरुण्डी खानेपानी, रावणपार्क र जामुनाखर्क नमुना विद्यालय भवन बेनी नगरपालिकाको चालु आर्थिक वर्षमा संचालित ठूला आयोजनाहरु हुन्।

गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको खबरा खानेपानी, बेनी–अर्थुंगे–पुलाचौर–भुतपानी र बेनी–अर्थुंगे–तोरीपानी सडक योजना निर्माण सकिएको ईञ्जीनियर सुदिप गौतमले बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका २१ वटा योजनाहरु कार्यान्वयनको चरणमा छन्।

न्यायिक समितिमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको छ।

नयाँ दर्ता भएका ६ सहित १० वटा फस्र्यौट भएको र २ फस्र्यौट हुने प्रक्रियामा रहेको नगर उपप्रमुख ज्योति लामिछानेले बताइन्।

नगरपालिकाले ५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा पहिलो चौमासिकमा ८० लाख २७ हजार १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।