म्याग्दीको बेनीमा ‘घरमै सुत्केरी हुने’ को संख्या शून्य

बेनीमा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिंगा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ

जनसम्मत
मंसिर ११, २०८१, मंगलवार

म्याग्दीको बेनी नगरपालिकामा ‘घरमै सुत्केरी हुने’ को संख्या शून्यमा झरेको छ।

घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको संख्या शून्यमा झारिएको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखाका अनुसार बेनी नगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म १ सय ४९ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्।

आव २०७८/७९ मा ८ सय ४७ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्।

त्यसैगरी, आव २०७९/८० मा ६ सय ७७ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्।

यस्तै, आव २०८०/८१ मा ३ सय ९२ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्।

बेनी नगरपालिकामा १० वटा वडा रहेको छ।

जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिंगा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ।

धेरै वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा जाने गरेका छन्।

एउटा गर्भवती महिलाले ८ पटकसम्म गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमा नै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र चेतनामूलक अभियानका कारण होम डेलीभरी शून्य भएको बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले बताएका छन्।