म्याग्दीको मालिका गाउँपालिकामा ‘एक घर , एक धारा’

आयोजनाबाट ५६ घरपरिवार, १ विद्यालय, १ स्वास्थ्यचौकीमा निजी धारा जडान

जनसम्मत
श्रावण ११, २०८१, शुक्रबार

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ।

नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको ३२ लाख ९७ हजार ७ सय ३२ रुपैयाँको लागतमा आयोजना निर्माण सम्पन्न भएको हो।

आयोजनाबाट ५६ घरपरिवार, १ विद्यालय, १ स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ।

सो खानेपानी आयोजनाबाट ३ सय ३४ जनसंख्या लाभान्वित भएका छन्।

यसअघि, सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो।

घरआँगनकै धारामा नियमित पानी आपूर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएकोमा स्थानीयवासी खुशी छन्।

धाराबाट पानी ओसार्दा स्थानीयवासीलाई हुने दुःख र झन्झट हटेको छ।

स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ।

स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थालेपनि दूषित पानीका कारण हुने स्वास्थ्य समस्या कम हुने अपेक्षा गरिएको छ।

खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको छ।

नेवाको १७ लाख ४० हजार सय १३ रुपैयाँ, गाउँपालिकाको ६ लाख २ हजार ६ सय ४९ रुपैयाँ लगानी भएको आयोजना निर्माणका लागि १ लाख ६८ हजार ६ सय ९३ रुपैयाँ नगद सङ्कलन गरेका उपभोक्ताहरुले ७ लाख ८५ हजार ५ सय ७७ रुपैयाँ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ।

आयोजनाको बिहीबार मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले शुभारम्भ गरिन्।