रवि लामिछाने सांसद पदबाट निलम्बित

आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याललाई सो पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ

जनसम्मत
पौष ८, २०८१, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत बनेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले सूचना प्रकाशित गरेर सांसद पद निलम्बनमा परेको जानकारी गराएको हो।

प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ अनुसार लामिछाने स्वतः निलम्बनमा परेको उल्लेख छ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेविरुद्ध आइतवार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धीसमेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको थियो।

यसअघि, आज (सोमबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याललाई सो पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।

लामिछाने, सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ ।