‘आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’

प्रेस काउन्सिल अध्यक्ष बस्नेत भन्छन्, ‘यसतर्फ स्वयं संचारकर्मीहरु सचेत बन्नुपर्छ’

जनसम्मत
पौष ९, २०८१, मंगलवार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आधारहीन आरोप नभएर आलोचनात्मक पत्रकारिताको खाँचो रहेको औँल्याएका छन्।

पत्रकारले समस्या केलाउने मात्र नभएर त्यसको समाधानका लागि हुनुपर्ने कामहरूमा समेत चासो देखाउनुपर्ने बेला आएको उल्लेख गरे।

काउन्सिलले नियमित रूपमा नयाँ अनलाइनका सम्पादक/प्रकाशकका लागि गर्दै आइरहेको आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३ औँ श्रृंखलामा उनले आधारहीन एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले संचार माध्यमकै बद्नाम हुने उल्लेख गरे।

उनले भने, ‘कतिपय संचार माध्यमले जानाजानी आरोपै आरोपको श्रृंखला सुरु गरेका छन्। पत्रकारितामा आलोचनात्मक चेत आवश्यक छ। तापनि, आलोचना गर्नु भनेको आरोपको वर्षैवर्षा गराउनु होइन। पत्रकार स्वयं सजग, सचेत र चनाखो नहुँदा यसको मार मिडिया जगतले खेपिरहनुपर्छ।’

अहिले, स्वस्थ आलोचनाको सट्टा डिजिटल मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको उनले औल्याएका छन्।

त्यसलाई रोक्न संचारकर्मी स्वयं सचेत बन्नुपर्ने सुझाव अध्यक्ष बस्नेतको सुझाव छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले आचारसंहिता भनेको आफूले आफैँलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ पालना गर्नुपर्ने सुझाव दिए।

‘प्रेस काउन्सिलको मूल काम नै आचासंहिता निर्माण गर्ने र लागू गराउने हो। काउन्सिलले नयाँ सूचीकरण हुने अनलाइनलाई काउन्सिलले अभिमुखीकरण गरेदेखि यसले राम्रो नतिजा देखाएको छ। पत्रकारिताभित्र आलोचनात्मक चेतलाई कमजोर बनाउन हुँदैन। आलोचनाका नाममा आरोप पत्रकारितालाई रोक्न काउन्सिलले थप विशेष सकृयता देखाउनुपर्छ’, पोखरेलको सुझाव छ।

विषय विज्ञको रूपमा सहभागी पत्रकार फूलमान बलले पहिले पत्रकार भन्नासाथ बौद्धिक वर्ग भन्न्ने धारणा रहेको उल्लेख गरे।

नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धकसमेत रहेका बलले औल्याए, ‘त्यसमा प्रश्न उठाउने काम स्वयं पत्रकारहरु आफैले गर्न हुँदैन। अहिले गफ गरेकै भरमा गोपनीयताको ख्याल नगरी पत्रकारले लेख्छ वा पैसाको बार्गेनिङ गर्छ भन्ने भाष्य निर्माण हुन थालिनु दुखद् छ। अब, राज्यले पत्रकारको योग्यतासम्बन्धी स्पष्ट मापदण्ड बनाउन पनि आवश्यक छ।’

कार्यक्रममा सहभागी अग्रज पत्रकार अरुण बरालले अहिले पत्रकारितामा आर्थिक संकटसँगै सामग्री (कन्टेन्ट)को संकट देखिएको उल्लेख गरे।

काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले पत्रकार आचारसहिंताअन्तर्गत ४ निर्देशिका रहेको र यसको कार्यान्वयन गर्दा समाचार विवादरहित हुने समेत औँल्याए।

काउन्सिलका शाखा अधिकृत सुवास राईले कार्यक्रमको सहजीकरण गरेका थिए।

समाचार/तस्बीर स्रोतः प्रेस काउन्सिल नेपाल