पोखरामा माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुँदै

प्रतियोगिताका करिब १५० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक कास्की जिल्ला टेनिस संघको दाबी

जनसम्मत
पौष १०, २०८१, बुधबार

पोखरामा भोलि (बिहीबार) देखि २१ औं संस्करणको माछापुच्छ्रे  पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु हुने भएको छ।

आयोजक कास्की जिल्ला टेनिस संघले आयोजना गरेको टेनिस प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा वुमन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि भेट्रान्स उमेर समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए।

आयोजक समितिका उपाध्यक्षसमेत रहेका चालिसेका अनुसार प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित मित्रराष्ट्र भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आउनेछन्।

ओपनतर्फ नेपालका शीर्ष वरियताका १ प्रदिप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए।

मेन्स सिंगलमा ३१ खेलाडी, वुमन्स सिंगलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२ खेलाडी, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित सय बढि खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनले बताए।

पत्रकार सम्मेलनमा बोल्दै कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले यो प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

ओपनतर्फ मेन्स तथा वुमन्स सिंगल्स बिजेताले नगद ८० हजार उपबिजेताले ४० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद २० हजारसहित मेडल पुरस्कार पाउनेछन्।

मेन्स तथा वुमन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार उपबिजेताले १५ हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार पाउनेछन्।

३५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ६० हजार उपबिजेताले ३० हजार सहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १५ हजारसहित मेडल पुरस्कार पाउनेछन्।

३५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले १० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार पाउनेछन्।

४५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ४० हजार उपबिजेताले २० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार पाउनेछन्।

४५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले १० हजारसहित ट्रफी पुरस्कार पाउनेछन्।