खेलाडी राष्ट्रका गहना हुन् : प्रदेश सामाजिक विकासमन्त्री थापा

‘पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको छ’

जनसम्मत
पौष ११, २०८१, बिहीवार

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले खेलाडी राष्ट्रका गहना भएको औल्याएका छन्।

पोखरामा आज (बिहीबार) देखि सुरु माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको उद्घाटन गर्दै थापाले भने, राष्ट्रले खेलाडीको सम्मान गर्नुपर्छ।’

पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको उनको भनाई थियो।

टेनिसको खेल विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री थापाले प्रतिबद्धता जनाए।

‘यो खेलको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने छु। मन्त्रालयले यसअघि ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। अब, थप ५ लाख रुपैयाँ सहयोग गर्ने छ’, मन्त्री थापाको प्रतिबद्धता थियो।

राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलाडीको सम्मानका लागि राष्ट्रले खेल क्षेत्रमा राम्रो बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।

नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालमा संचालित विभिन्न प्रतियोगिताहरुमध्ये लामो समयसम्म निरन्तर आयोजित प्रतियोगितामध्ये एक भएको बताए।

‘यसले आगामी दिनहरुमा निरन्तरता पाउनुपर्छ’, उनले जोड दिए।

संघका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे।

‘आगामी दिनहरुमा पनि सहयोगीहरुबाट संघले यस्तै अपेक्षा राखेको छ’, गुरुङले उल्लेख गरे।

आयोजक संघका उपाध्यक्ष नविन चालिसेले पोखरामा टेनिस खेलको विकासमा निजी क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त भएको बताए।

‘यो खेललाई अगाडी बढाउन अब सरकारी सहयोगको पनि खाँचो छ’, चालिसेले औंल्याए।

कार्यक्रममा हालै बहराइनमा सम्पन्न डेभिज कपमा नेपाललाई एशिया ओशियाना क्षेत्रमा डिभिजन ५ बाट ४ मा पुग्न योगदान दिने खेलाडीहरु अभिषेक बाँस्तोला, प्रदीप खड्का, रितिक राना, प्रणव मानन्धर, प्रणव खनाल तथा टिम व्यवस्थापक गोपाल ज्ञवालीलाई सम्मान गरिएको थियो।

त्यसैगरी, पोखरा टेनिस कम्प्लेक्सभित्र टेनिस कोर्ट निर्माण गरेका हेम गुरुङ, किरण केसी, उत्तम लामा, बिमल बसेल, हङकङ नेप्लिज टेनिस सोसाइटी, सहयोगी नेपाली घरका राजु श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो।

सचिव भिष्मराज पौडेलले संचालन गरेका थिए।

फाइल तस्बीर