कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सकियो

सूर्यदर्शनको संचालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले आफूले कुनै ऋण नलिएको लामिछानेले इन्कारी बयान दिएका छन्

जनसम्मत
पौष १२, २०८१, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेको बयान सकिएको छ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको बयान २ दिन चल्यो।

पोखराको सूर्यदर्शन सहकारीका सन्दर्भमा २ दिन लगाएर लिएको रविको बयान आज (शुक्रबार) सकिएको हो।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लाछिानेको वयान जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लिइएको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगी सन्दर्भमा अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ।

अब . नेचर हर्ब्स इन्टरनेशनल संचालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसंचालक ललितबहादुर गुरूङ, पूर्व संचालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने कास्की जिल्ला अदालतले जनाएको छ।

गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम निय विपरीत ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कार्तिक २ गते पक्राउ गरेको थियो।

कार्तिक २ गते पक्राउ गरी ३ गते बिहान पोखरा ल्याएपछि उनलाई जिल्ला सहकारी वकिलको कार्यालयमा लागि बयान लिने क्रम सुरु भएकोमा (बुधबार) बयान लिइसकिएको हो।

लामिछानेको बयान बुधबार अबेर जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र यो प्रकरणका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले प्रमाणित गरेका छन्।

लामिछानेलाई पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप भएकोमा बुधबार थपिएको म्याद सकिएको छ।

पोखराको सूर्यदर्शन सहकारीमा १ अर्ब ३५ करोड अपचलन भएकोमा साढे ५ करोड गोरखा मिडियामा गएको देखिएको छ।

त्यस्तै, १ करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ।

आफ्नो बयानमा लामिछानेले सहकारी ठगीमा संलग्नता अस्वीकार गरेका छन्।

गोरखा मिडियामा रकम व्यवस्थापन र परिचालन आफूले गर्ने नगरेको उनले उल्लेख गरेका छन्।

उनले सूर्यदर्शनको संचालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले ऋण लिने कुरै नहुने उनले इन्कारी बयान दिएका छन्।