कास्कीको माछापुच्छ्रे–१ टुसेमा नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना

संचारमन्त्री गुरुङ भन्छन्, ‘प्रमुख दलहरूको सहमतिमा संविधान संशोधन हुन्छ’

जनसम्मत
पौष १३, २०८१, शनिबार

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिएको छ।

स्वीट्जरल्याण्डका एहमान स्टिफटङको ५ करोड रुपैयाँको आर्थिक सहयोगमा सो ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिएको हो।

सो दिवा सेवाकेन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ।

भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको स्मृतिमा ४ रोपनी जग्गा प्रदान गरेका थिए।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (शनिबार) सो ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रमुख राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताए।

उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने उल्लेख गरे।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारमा रहेका प्रमुख २ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ। यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरू शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुंगो लगाउने सरकारको योजना छ।’

संचारमन्त्री गुरुङले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको जानकारी दिए।

उनले ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र स्थापना हुनु सकारात्मक हो भन्दै केन्द्र संचालनका लागि सरकारका तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाए।

उनले भने, ‘ज्येष्ठ नागरिकको हकहित र अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध छ।’