संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यसै वर्षभित्र नेपालको सबै घर–घरमा फोरजी इन्टरनेट सेवाको पहुँच पुग्नेगरी काम गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।
नेपाल दूरसंचार प्राधिकरणले आज (शुक्रबार) पोखरामा आयोजना गरेको प्राधिकरणबाट गण्डकी प्रदेशमा दूरसंचार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना, दूरसंचार सेवाको गुणस्तर सुधारलगायतका विषयमा दूरसंचार सेवा प्रदायक र सरोकारवालाहरूको एक दिवसीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन्।
‘प्राय देशहरूमा आफ्नो सुरक्षाको लागि स्याटलाइट भएकोले नेपालले पनि आफ्नै स्याटलाइट राख्नुपर्छ। स्याटलाइटको ऐन र नीति नियम बनाउँदैछौंँ’, गुरुङले उल्लेख गरे।
उनले अहिलेको समय सन्दर्भमा एआईको उचित र अधिकतम प्रयोग गरी नेपालको उत्पादन र उत्पादकत्व वृद्धिमा प्रयोग गर्नुपर्ने औंल्याए।
‘मानिसले बनाएको एआईले विश्वमा कल्पनाभन्दा धेरै काम गर्दै आएको छ। यसलाई नेपालमा निश्चित मापदण्डमा ल्याउने काम भएको छ। एआईको नेपालमा कुनै नीति नियम छैन। अबको एक महिनाभित्र एआई सम्बन्धी नीति नियम बनाउने काम भएको छ’, मन्त्री गुरुङले उल्लेख गरे।
उनले एआईलाई अब नेपालको कृषि र उत्पादनसँग जोडेर अघि बढाउने योजना ल्याउने सुनाए।
मन्त्री गुरुङले भने, ‘सरकारी, बैकिङ, उद्योगलगायतको क्षेत्रमा एआईको उच्चतम प्रयोग गरेर नेपालले पनि यसबाट फाइदा लिनुपर्छ।’