सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले सार्वजनिक सेवाबाट प्रसारण हुने सामग्री जनताप्रति केन्द्रित गरेर अगाडि बढ्नु आवश्यक रहेको औंल्याएका छन्।
‘सार्वजनिक सेवा प्रसारणमा समाचार विषयवस्तु जिम्मेवारी र जबाफदेहिता’ विषयक एकदिने कार्यशालाको आज (शुक्रबार) सिंहदरबारमा उद्घाटन गर्दै अध्यक्ष डा. बिष्टले भने, ‘पीएसबीको समाचारको प्राथमिकता निर्धारण दृष्टिकोण परिवर्तन गर्न कार्यशाला महत्वपूर्ण हुनेछ।’
डा. बिष्टले सार्वजनिक सेवाबाट प्रसारणको उद्देश्य र मूल्य मान्यतामा ध्यान दिएर अगाडि बढ्नु आवश्यक रहेको औंल्याए।
पीएसबीलाई अगाडि बढाउने अवसरलाई जिम्मेवार र जवाफदेहि भएर लाग्नुपर्ने उनले जोड दिए।
सार्वजनिक सेवा प्रसारण नेपालका नवनियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुसार अगाडी बढ्नु अहिलेको प्राथमिकता रहेको उल्लेख गरे।
सार्वजनिक सेवा प्रसारण नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पीएसबीको उद्देश्य पूरा गर्न यसको प्रसारण जनता केन्द्रीत बनाउन सबै लाग्नु पर्नेमा जोड दिए।
रेडियो नेपाल र नेपाल टेलिभिजनको समाचार महाशाखामा कार्यरत पत्रकारहरूका लागि आयोजित सार्वजनिक सेवा प्रसारण समाचार विषयवस्तु जिम्मेवारी र जबाफदेहिता विषयक कार्यशालामा संचारविज्ञ रघु मैनालीले सहजीकरण गरेका थिए।