पत्रकार महासंघको निर्णय, ‘प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट बेहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने महासंघले प्रतिबद्धता जनाएको छ

जनसम्मत
पौष ९, २०८१, मंगलवार

नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका संचारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै खबरदारी गर्ने निर्णय गरेको छ।

महासंघको २७ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पद सम्हालेपछि हिँजो (मंगलबार) बसेको पहिलो बैठकले यो निर्णय गरेको हो।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट बेहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए।

यसैगरी, समाचारका विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेका सन्दर्भमा स्थलगत अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा मिडिया मिसन गठन गरिएको पनि उनले जानकारी दिए।

मिडिया मिसनमा केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेका छन्।

महासंघको २७ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, ३ वटै तहका निर्वाचन समिति, सरोकार भएका संघसंस्था, महासंघका सदस्य, महासंघ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलगायत सबैलाई धन्यवाद ज्ञापन गरिएको पनि महासचिव दाहालले जनाए।

महासंघको इतिहासमा २७ औँ महाधिवेशनबाट पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त समूहका तर्फबाट अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएकी हुन्।

२७ औँ महाधिवेशन गराउने कार्यसमितिको कार्यवाहक अध्यक्ष पनि संयोगले महिला नै भएको इतिहास पनि स्थापित भएको छ।