‘सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ’

संचारमन्त्री गुरुङ भन्छन्, ‘सूचना र प्रविधिको विकास गरी युवापुस्तालाई आत्मनिर्भर बनाउन सकिन्छ’

जनसम्मत
पौष ७, २०८१, आइतबार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरूको सक्रियता बढाउन जरुरी रहेको औंल्याएका छन्।

हुवावे नेपालको हात्तीसारमा रहेको हुवावे प्रदर्शनी केन्द्रको आज (आइतबार) उद्घाटन गर्दै मन्त्री गुरुङले जोड दिए, ‘यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको छ।’

सूचना र प्रविधिको विकास गरी युवापुस्तालाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गरे।

उनले यसका लागि हुवावे जस्ता सूचना प्रविधिमा काम गरिरहेका संस्थाको साथ आवश्यक भएको धारणा राखे।

मन्त्री गुरुङले शिक्षा क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिए।

हुवावे दक्षिण एसियाका बोर्ड निर्देशक लिनहाईले हुवावेले नेपालमा २५ वर्षदेखि निरन्तर काम गर्दै आएको उल्लेख गरे।

डिजिटल नेपालको अभियानमा आफू पनि सक्रिय रहेको उनको भनाई थियो।

हुवावे नेपालका सिइओ ह्वाङजुनले पछिल्ला केही वर्षयता नेपालमा सूचना प्रविधिको प्रयोग व्यापक भएको सुनाए।

त्यस अवसरमा यस वर्षको ‘सिड्स फर द फ्युचर’को समापन गर्दै ‘टेक फर गुड’ प्रतियोगितामा पिपुल च्वाइस अवार्डका विजेता ५ जना नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो।

फाइल तस्बीर