पोखरामा २६ औं संसकरणको पोखरा सडक महोत्सव सुरु

अंग्रेजी नयाँ वर्ष–२०२५ को स्वागतार्थ सुरु महोत्सव ५ दिनसम्म चल्नेछ

जनसम्मत
पौष १३, २०८१, शनिबार

पोखराको फेवाताल किनारमा २६ औं संस्करणको पोखरा सडक महोत्सव आज (शनिबार) देखि सुरु भएको छ।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराको आयोजनामा वर्षेनी हुँदै आएको सडक महोत्सव यस वर्षपनि अंग्रेजी नयाँ वर्ष २०२५ को संघारमा सुरु भएको हो।

पोखराको लेकसाइडस्थित कोमागानेपार्कमा विशेष समारोहबीच नेपाल सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे।

त्यसअघि, खहरे चोकदेखि कोमागाने पार्कसम्म साँस्कृतिक झाँकीको आयोजना गरिएको थियो।

जसमा विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा झाँकी निकालिएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिएका छन्।

छिमेकी जिल्लाका प्रचलित नाचहरुले दर्शकको ध्यान खिचेको थियो।

विविध कार्यक्रमका साथ पर्यटनको राजधानी पोखरामा ५ दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख पर्यटक भित्राउने लक्ष्य आयोजकको छ।

रेवान महासचिव एवं प्रचार–प्रसार समिति संयोजक वीरेन्द्र शेरचनले स्थानीय कलासंस्कृति, मौलिक भेषभूषा प्रदर्शनी, स्थानीय उत्पादनलाई जोड दिइएको बताए।

सडक महोत्सवलाई अन्तर्राष्ट्रियजगतसम्म चिनाउन संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेकाले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा लिएको बताए।

‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ व्यवसायीले सडकमै रेष्टुरेन्ट उतारेर ग्राहकलाई सेवा दिनेछन्।

महोत्सवको आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, कन्सर्ट, खेलकुद खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ बार, मःम, ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौती विषयमा टक सो, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पतीलगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनी रहनेछन्।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवले नेपालमा कला, संस्कृति, तथा पर्यटनलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने राम्रो अवसर प्रदान गरेको छ।

उनका अनुसार समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको छ।

लेकसाइड यतिखेर ध्वजापताका, ब्यानरले दुलही झैं सिँगारिएको छ।

गोर्खा बु्रअरी प्रालिको टुबोर्ग वियरले सडक महोत्सवका मुख्य प्रायोजन गरेको छ।

नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषदलगायतका संघसंस्था महोत्सवको प्रबद्र्धक रहेका छन्।