कास्कीको माछापुच्छ्रे–१, देउपुजेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’

दाताको ५ करोड रुपैयाँ आर्थिक सहयोगमा स्थापाना गरिएको ज्येष्ठ नागरिकसेवा भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ

जनसम्मत
पौष १३, २०८१, शनिबार

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ।

स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको ५ करोड रुपैयाँ आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ निर्माण गरिएको हो।

नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गरेका हुन्।

दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ।

सेवा केन्द्रको संचालन अब प्रतिष्ठानले गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताएका छन्।

सेवा केन्द्रमा ४ वटा भवन छन्।

प्रतिष्ठानको पहलमा स्वीजरल्याण्डका दाताबाट सो सहयोग रकम प्राप्त भएको थियो।

सेवा केन्द्रमा ६५ वर्ष उमेरमाथिका असहाय, गरीब तथा विपन्न नागरिकहरुलाई आवासीय सुविधासहित राखिने प्रतिष्ठानका संस्थापक दवाडीले बताएका छन्।

सेवा केन्द्रमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै भवनहरु छन्।

त्यसैगरी, एउटा कर्मचारी र किचन तथा अर्को भवनमा क्लिनिक तथा पाहुनाका लागि व्यवस्था गरिएको छ।

गरीव, विपन्न र असहायः वृद्धवृद्धाका लागि लक्ष्य गरिएपनि सेवा केन्द्रलाई आत्मनिर्भर बनाउनका लागि शुल्क तिरेरपनि वृद्धवृद्धा राख्न सकिने दवाडीले बताएका छन्।

सेवा केन्द्र संचालनका लागि सुरुआती ३ वर्षको संपूर्ण खर्च इहमान फाउण्डेशनले नै बेर्होने बताइएको छ।

दवाडीले भने, ‘हामीले गरीव तथा असहाय र दिनदुःखीका लागि नै आवासीय सेवा केन्द्र संचालनमा ल्याएका हौँ। यसका साथै कसैले शुल्क तिरेर सेवा केन्द्रमा राख्न चाहनुहुन्छ भनेपनि राख्न सकिन्छ। सेवा केन्द्रलाई आत्मनिर्भर बनाउन यसबाट मद्धत पुग्नेछ। नहुनेलाई सहयोग गर्ने र पैसा हुनेले तिरेर बस्ने हो।’

सेवा केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरुलाई क्लिनिक र फार्मेसीसहितको नर्सिङ सेवा, परामर्श सुविधा, पुस्तकालयको सुविधा पनि छ।

यसैगरी, अडियो–भिजुअल ल्याब, योग र ध्यान कार्यक्रम तथा एकल, डबल वा साझा कोठा, स्नान गृहको व्यवस्था गरिएको प्रतिष्ठानका सचिव सुवासचन्द्र लम्सालले जानकारी दिएका छन्।

उनका अनुसार अबको ३ महिनाभित्रमा सेवा केन्द्र पूर्ण रुपमा संचालनमा आउनेछ।

‘भवन पूर्ण रुपमा तयार भइसकेको छ। केहीमा झ्याल ढोकाको काम बाँकी छ भने किचनका सामानहरु किन्नुपर्ने र ज्येष्ठ नागरिक राख्नका लागि प्रक्रिया पूरा गर्दा संचालनमा आउन ३ महिना समय लाग्छ’, लम्सालले भनेका छन्।

सेवा केन्द्र निर्माणका लागि नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा परिवारजन कर्र्णबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र छोरी शुकमाया गुरुङले ४ रोपनी जमिन दान गरेका छन्।

कार्यक्रममा जग्गादाता तथा एहमान फाउण्डेसनका प्रतिनिधि माथियाज मारिया डोल्डलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दिननाथ लम्साल, प्रमुख संरक्षक रविलाल पोखरेल, सल्लाहकार सूर्यप्रसाद लम्साललगायतले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकले लाभ लिने बताएका छन्।

आमा स्मृति प्रतिष्ठानले घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन गरिरहेको छ।

जसमा विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म वृद्धवृद्धाहरु आएर बस्ने गरेका छन्।