पोखरामा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा हुने नेपालको सबैभन्दा ठूलो सडक महोत्सवमा एकैदिन ५ जना चर्चित कलाकार र उनीहरुको ब्याण्डले प्रस्तुति दिने भएका छन्।
‘द इण्ड गेम’ नाम दिएर अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न लेकसाइडको बसुन्धरा पार्क (कोमागानेपार्क) मा डिसेम्बर ३१ अर्थात् पुसको १६ गते साँझ कार्यक्रम हुन लागेको हो।
प्रचार नेपाल र स्पेक्स–१४ को आयोजना र आर्बिटरी इभेन्टससँगको सहकार्यमा कार्यक्रम हुने भएको हो।
यही पुसको १३ देखि १७ गतेसम्म रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराले आयोजना गरेको २६ औं संस्करणको पोखरा सडक महोत्सव गर्दैछ।
नेपालको सबैभन्दा ठूलो स्ट्रीट फेस्टिभल मनाउन पोखराको लेकसाइड देश÷विदेशबाट पर्यटकको ओइरो लाग्ने गर्दछ।
सडक महोत्सवको सन्दर्भमा हुने वर्ष २०२४ को विदाईको उत्सवमा ‘द इण्ड गेम’ मुख्य आकर्षण बन्ने आयोजकको विश्वास छ।
‘द इण्ड गेम’ मा सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजूभाईहरु, ¥यापर डोङ, देवेन्द्र बब्लु एण्ड द फिरन्ती, द इन्फ्लेम ब्यान्डजस्ता चर्चित ब्याण्ड र कलाकारहरुको प्रस्तुति रहने आयोजक प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिएका छन्।
चर्चित पोडकास्ट संचालक सञ्जय सिलवाल गुप्ताले यो कार्यक्रम संचालन गर्नेछन्।
डिसेम्बर ३१ मा हुने कार्यक्रम संगीत र मनोरन्जनप्रेमीहरूका लागि अविस्मरणीय अनुभव बन्ने स्पेक्स–१४ का संचालक महेश्वरसिंह भण्डारीले बताएका छन्।
उक्त दिनको कन्सर्टको टिकट डिजिटल वालेट खल्तीमार्फत खरिद गर्न सकिने उनले जानकारी दिएका छन्।
खल्तीबाट अग्रिम टिकट लिँदा त्यसको मूल्य ७ सय ५० रुपैयाँ पर्नेछ।
कार्यक्रमस्थलमा टिकटको मूल्य १ हजार रुपैयाँ पर्ने आयोजकले जनाएको छ।
कन्सर्टस्थलमा नयाँ वर्ष २०२५ को स्वागतार्थ आतिसबाजीको अवलोकन, खानाका परिकारको स्वाद लिन र खेलकुद गतिविधिमा सहभागी हुन सकिनेछ।