पोखरामा जारी २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा फाइनल भिड्ने भएका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन महिला सिंगल्स ओपनतर्फको सेमिफाइनलमा उनीहरु आफ्नो खेल जित्दै उपाधि नजिक पुगेका हुन्।
सलोनीले प्रकृति श्रेष्ठलाई ६–२, ६–२ र सुनिराले स्वस्तिाका विष्टलाई ६–३, ६–३ ले सेमिफाइनलमा पराजित गर्दै उपाधि यात्राको नजिक पुगेकी छिन्।
यस्तै, मेन्स सिंगल्स ओपनतर्फ नेपाल नं १ प्रदिप खड्काले आयुषमान हजुर घलेलाई ६–४, ६–१ ले पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरेका छन्।
त्यस्तै, निशान श्रेष्ठले निहाल जंगबहादुर थापालाई ६–४, ६–२ ले हराए।
प्रनव मानन्धरले राजवीर प्रधानलाई ७–५, ६–३ ले पराजित गरे।
आरव सम्राट हाडाले सक्षमबहादुर शाहलाई ६–२, २–० (रिटायर्ड हर्ट) मा पराजितगरे।
यसैगरी, मेन्स डबल्सको सेमिफाइनलमा प्रदीप खड्का र जे शेर्पाको जोडी ६–४, ६–१ ले प्रनव मानन्धर र राजवीर प्रधानको जोडीसँग पराजित हुँदै बाहिरिए।
अर्को एक सेमिफाइनलमा सक्षमविक्रम शाह र निशान श्रेष्ठको जोडीले निश्चल थापा र आरव सम्राट हाडालाई सुपर टाईमा ६–२, ७–५ र १०–७ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ।
यस्तै, ३५ वर्षमाथिको मेन्स सिंगल्समा सन्तोष खत्रीले सागर थापालाई ६–१, ६–१ ले हराउँदै सेमिफाइनल पुगेका छन्।
जितेन्द्र परियारले देव क्षत्रीलाई ६–०, ६–० ले हराउँदै अन्तिम ४ मा स्थान पक्का गरेका छन्।
भिष्म गुरूङले गगन महर्जनलाई ६–३, ६–१ले पराजित गर्दै सेमिफाइनल यात्रा गरेका छन्।
सिमान्त गुरूङले पेमा नोर्वुलाई सुपरटाईमा ६–१, १–६ र ११–९ ले पराजित गरी सेमिफाइनलमा स्थान बनाएका छन्।
प्रतियोगिताअन्तर्गत ४५ वर्ष माथिको मेन्स सिंगल्समा हेमराज ढकालले सुनिल श्रेष्ठलाई ६–१, ६–४ ले हराउँदै अन्तिम ४ मा स्थान बनाएका छन्।
रोहित सुनुवारले मानबहादुर कटुवाललाई सुपर टाईमा ५–७, ६–३ र १०–६ ले पराजित गर्दै सेमिफाइनल यात्रा गरेका छन्।
कमल भण्डारीले विकास गुरूङलाई ६–२, ६–२ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन्।
छेवाङ लामाले सन्दीपकुमार लामालाई ६–२, ६–३ ले पराजित गर्दै अन्तिम सेमिफाइनलमा पुगेका छन्।
त्यसैगरी, ५५ वर्ष माथिको मेन्स सिंगल क्वाटर फाइनलमा तुलेश्वर सिंहले राजु श्रेष्ठलाई ६–४, ६–० ले हराएका छन्।
राजेन्द्रसिंह भण्डारी पहिलो सेटमा रिटायर्ड हर्ट हुँँदै चन्द्र सिंहलाई खेल सुम्पिएका छन्।
जीवन घिमिरेले उत्तम शेर्पालाई ६–३, ६–१ ले पराजित गरेका छन्।
४५ वर्षमाथिको मेन्स डबल्समा पोखरेली खेलाडी धरमबहादुर लामिछाने र गोपी बहादुर भट्टराईको जोडी सुपर टाई म्याचमा पराजित भएका छन्।
सम्पन्न सेमीफाइनलमा लामिछाने र भट्टराईको जोडी चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीसँग ६–४, ६–० र १५–१३ ले पराजित भएका हुन्।
त्यस्तै, अर्को सेमिफाइनलसमेत सुपर टाईमा नै सम्पन्न भएको छ।
हेमराज ढकाल र मानबहादुर कटुवालको जोडीले रोहित सुनुवार र भिष्मराज पौडेलको जोडीलाई ६–३, ३–६ र ११–९ ले पराजित गरेको छ।
५५ वर्ष माथिको मेन्स सिंगल्समा चन्द्र शाही र जीवन घिमिरेले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
६५ वर्ष माथिको सिंगल्समा बिदुर विष्ट सेमिफाइनलमा पुग्दा ध्रुव गुरूङले एक अर्को खेलमा फाइनलमा स्थान पक्का गरेका छन्।
५५ वर्ष माथिको डबल्समा हेमराज ढकाल र मानबहादुर कटुवाल तथा सुदर्शन विष्ट र जीवन घिमिरेको जोडी फाइनलमा भिड्ने भएका छन्।
३५ वर्षमाथिको मेन्स डबल्समा जीत परियार र कुमार अधिकारीको जोडीले कमल गुरुङ सिमान्त गुरुङको जोडीलाई ६–१, ६–१ को सेट पराजित गरी फाइनल यात्रा तय गरेका छन्।
उनीहरुले फाइनलमा नोर्वु पेमा र एस तोगवाईको जोडीसँग भिड्नेछन्।
यसैगरी, प्रतियोगिताको पाँचौ दिन सोमबार केही उमेर समुहका फाइनल खेल संचालन हुनेछन्।
सोमबार नै सेमिफाइनलका केही खेलहरु समेत हुने टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताएका छन्।
प्रतियोगिता भोली सोमबार सकिने भनिए पनि १ दिन लम्विएर मंगलबारसम्म पुगेको आयोजकले जनाएको छ।