विभागीय आर्मीका मुकेस पाल दोस्रो संस्करणको ‘गैँडाकोट हाफ म्याराथन’ को च्याम्पियन बनेका छन्।
विजय फाउन्डेसन नेपालको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा (सोमबार) सम्पन्न ‘गैँडाकोट हाफ म्याराथन–२०२४’ को उपाधि आर्मीका धावक पालले जितेका हुन्।
प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी १ घण्टा १६ मिनेट ८ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबका धावक मुकेशबहादुर पाल च्याम्पियन बने।
हाफ म्याराथन विजेता पालले उपाधिसहित १ लाख पुरस्कार हात पारेका छन्।
त्यस्तै, प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफका धावक गोपीचन्द्र पार्की दोस्रो भए।
पार्कीले निर्धारित दूरी एक घण्टा १७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै ५० हजार रुपैयाँ पुरस्कार हात पारे।
प्रतियोगितामा त्रिभुवन आर्मीकै धावक नरेन्द्रसिंह रावत तेस्रो भए।
रावतले १ घण्टा १८ मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा त्रिभुवन आर्मीका सञ्जय श्रेष्ठ १ घण्टा २१ मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै चौथो बने।
त्यसैगरी, आर्मीकै रामजी बस्नेतले १ घण्टा २२ मिनेट १७ सेकेन्डमा दूरी पूरा गर्दै पाँचौं स्थानमा आए।
स्याङ्जाका धनु मानन्धरले १ घण्टा २८ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै छैटौं बने।
काठमाडौँका मिङ्मारसिंह तामाङ १ घण्टा ३४ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै सातौं बने।
सशस्त्र प्रहरी बल एपीएफका खेमबहादुर शाहीले १ घण्टा ३५ मिनेट ४९ सेकेन्डमा दूरी पूरा गर्दै आठौं स्थानमा आए।
हाफ म्याराथनको चौथोदेखि आठौं स्थानसम्म आउनेलाई जनही ५/५ हजार रुपैयाँ शान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगितामा महिलातर्फको उपाधिसमेत त्रिभुवन आर्मी क्लबकै धाविकाले जितेकी छिन्।
त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले २१ किलोमिटरको दूरी १ घण्टा ४८ मिनेट ४६ सेकेन्डमा पूरा गर्दै महिलातर्फ च्याम्पियन बनेकी हुन्।
विजेता, न्यौपानेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
त्यस्तै, महिलातर्फ नवलपुरको गैँडाकोट–६ की अनु मगरले २ घण्टा ४१ मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो बनिन्।
उपविजेता, अनुले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।
चितवनको कालिका–८ की सुनिना मगरले ३ घण्टा १ मिनेट ३७ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइन्।
तेस्रो बनेकी सुनिनाले ५ हजार रुपैयाँ पुरस्कार पाइन्।
दोस्रो संस्करणको हाफ म्याराथन प्रतियोगितामा देशभरका १४१ धावकहरुको प्रतिस्पर्धा रहेको विजय फाउन्डेसन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए।
प्रतियोगिताअन्तर्गत ५ किलोमिटर दूरीको विद्यार्थीमैत्री दौडमा जनक नमूना माविका मनुप थापा पहिलो भएका छन्।
उनले ३२ मिनेट ३५ सेकेन्डमा दूरी पूरा गर्दै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा कालिका माविका अनमोल विटालोले ३२ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै ५ हजार रुपैयाँ पुरस्कार पाए।
जनक नमूना माविकै दीपेश मगरले ३२ मिनेट ५२ सेकेन्डमा दूरी पार गर्दै ३ हजार पुरस्कार प्राप्त गरे।
त्यस्तै, प्रतियोगितामा छात्रातर्फ विजय सामुदायिक शिक्षा सदनकी सुर्ताना दराईले ४३ मिनेट ३ सेकेन्डमा दूरी पार गर्दै पहिलो बनिन्।
विजेता सुर्तानाले ५ हजार पुरस्कार प्राप्त गरिन्।
प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदनकै सामना गौतमले ४४ मिनेट ५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो बनिन्।
उपविजेता सामनाले ३ हजार पुरस्कार हात पारिन्।
जनक नमूना माविकी गरिमा अधिकारीले ४५ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो बनिन्।
तेस्रो भएकी गरिमाले २ हजार पुरस्कार प्राप्त गरिन्।
विद्यार्थीमैत्री दौडमा गैँडाकोट नगरपालिकाभित्र रहेका कक्षा १० सम्म अध्ययन गर्ने ३०२ जना खेलाडीहरु दौडिएका थिए।
प्रतियोगितामा अपांगता भएका धावक दोलखाका नवराज कार्कीले १ घण्टा ४६ सेकेन्ड २१ मिनेटमा दूरी पार गर्न सफल भएकाले उनलाई
हौसलास्वरूप ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
कार्की, (दाहिने हात नभएका) अपांगता भएका व्यक्ति हुन्।
हाफ म्याराथन समापनका अवसरमा प्रतियोगितामा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, धावक वैकुण्ठ मानन्धरसहितले विजेता धावक/धाविकाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख अधिकारीले खेलकुदको क्षेत्रमा नगरपालिकाले सक्दो लगानी गरिरहेको बताए।
‘आगामी दिनमा समेत पालिकाले खेलकुदको क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी नीति तथा योजना बनाएर काम गर्दै जानेछौं’, अधिकारीले बताए।
त्यसैगरी, विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले विकासको क्षेत्रमा अगाडि भएका मुलुकहरू खेलकुदमा समेत अगाडि रहेका उल्लेख गरे।
उनले भने, ‘खेलकुदको माध्यमबाट विकासलाई अगाडि बढाउन खेलकुद र विकासको सम्बन्ध महत्वपूर्ण छ।’