पोखरा लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ महोत्सवको मूल नारा छ

जनसम्मत
पौष १५, २०८१, सोमबार

२० औं संस्करणको पोखरा लेखनाथ महोत्सवको तयारी पूरा अन्तिम चरणमा पुगेको छ।

पोखराको लेखनाथमा यही पुसको आउँदो २८ गतेदेखि हुने लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १ गतेसम्म चल्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

पोखरा महानगरपालिका–२७ डाँडाकोनाक, तालचोकमा संचालन हुने महोत्सवमा रहने ३३६ वटा सबै स्टलहरु बुकिङ भइसकेको पत्रकार सम्मेलनमा बताइएको छ।

महोत्सव स्थलमा रहने स्टलहरुमध्ये अटो प्रदर्शनीको ६, शैक्षिक÷ग्रामीण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामग्री २५, मेशिनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेड फेन्सी १०८, जनरल २६, फूड एण्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना महोत्सव १७, बैंक तथा वित्तीय संघसंस्था, प्रायोजक गरी ३३ स्टलहरु सबै बुकिङ भइसकेका छन्।

महोत्सव उद्घाटन कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन झाँकी प्रदर्शनीका लागि स्थानीय ४ सय भन्दा बढी समूहको नाम दर्ता भएको महोत्सव प्रचार–प्रसार संयोजक जानुका पराजुली अधिकारीले बताएकी छन्।

महोत्सवलाई शोभायमान बनाउनुका साथै समग्र लेखनाथको अस्तित्व बचाउन र अनेकतामा एकताको पहिचानका लागि झाँकी प्रदर्शनी प्रस्तुत गरिने संयोजक पराजुलीले उल्लेख गरिन्।

त्यसैगरी, महोत्सव र महोत्सवस्थलको सुरक्षार्थ नेपाल प्रहरी र सुरक्षा गार्डलाई चुस्त दुरुस्त पारिने संयोजक पराजुलीले दाबी गरिन्।

यसका लागि महोत्सवस्थलको विभिन्न स्थानहरुमा सीसी क्यामेराको व्यवस्था मिलाइएको संयोजक पराजुलीले बताइन्।

आयोजकले महोत्सव अवलोकनका लागि विद्यार्थी शुल्क ६० रुपैयाँ तोकेको छ।

त्यसैगरी, साधारण टिकटको शुल्क १ सय रुपैयाँ तोकेको छ।

यस्तै, सुगमसंगीत कन्सर्टका लागि ३ सय रुपैयाँ शुल्क तोकेको छ।

२ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले अनुमान लगाएको छ।

महोत्सवमा ९ करोड भन्दा बढी आर्थिक कारोबार हुने आयोजकको दाबी छ।

महोत्सवबाट ९० लाख आम्दानी र खर्च ८० लाख तथा १० लाख वचत गर्ने लक्ष्य लिएको छ।

वचत रकमबाट महोत्सवस्थल, लेखनाथ उद्योग वाणिज्य संघको भवन स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकासका लागि खर्च गर्ने जनाएको छ।

त्यसैगरी, वचत रकमबाट पर्यटन विकासतर्फ बेगनास तालस्थित बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुबाट उत्पादन गरिएको वस्तुहरुको प्रदर्शनीका लागि ‘कोशेली घर’ को निर्माण र बेगनास तालस्थित लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण र सामाजिक उत्तरदायित्वमा सहयोग गर्ने जनाएको छ।

महोत्सवमा लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दूग्धजन्य उत्पादनलगायतका विक्रि एवं प्रदर्शनी राखिनेछ।

त्यसैगरी, नेपाली उत्पादनलाई प्राथमिकता दिई छुट्टै (पेभेलियन) को व्यवस्थाले महोत्सवको आकर्षण थप्नेछ।

महोत्सव स्थलमा निर्माण गरिने शान्तिका दूत गौतम बुद्धको प्रतिमाले महोत्सवलाई थप आकर्षण हुनेछ।

नव प्रतिभा खोजी कार्यक्रमअन्तर्गतको खुल्ला जोडी नृत्य प्रतियोगिताले महोत्सवलाई थप रौनकता दिनेछ।

महोत्सवमा राखिने एक्वुरियममा रहेका १०० भन्दा बढी प्रजातिका माछाले अवलोकनकर्ताको ध्यान खिच्ने विश्वास लिइएको छ।

महोत्सवमा पहिलो पटक महिला आमा समूह/दिदीबहिनी समूहबीच हाजिरीजवाफ प्रतियोगिता राखिएको छ।

जसले, महिलाहरुको क्षमता अभिवृद्धिका लागि सघाउ पुग्ने आयोजक लेखनाथ उद्योग वाणिज्य संघको दाबी छ।

महोत्सवमा राखिने अचार, कृषिजन्य वस्तु, हस्तकलाका सामग्रीलगायतको प्रदर्शनीले महिला उद्यमीलाई उत्पादन, सीप विकास र क्षमताका लागि थप प्रोत्साहन गर्नेछ।

महोत्सवमा लेखनाथ क्षेत्रका गतिविधिहरु, फूड फेस्टिभल, अटोमोबाइललगायतको प्रदर्शनी रहनेछन्।

महोत्सवमार्फत वित्तीय तथा सेवामूलक संघसंस्थाको सेवाबारे जानकारी मिल्नेछ।

औद्योगिक व्यापार मेला, दैनिक उपभोग्य एवं खाद्यान्न सामग्रीका सामानहरु, फेन्सी तथा कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्याुतीय उपकरण, फर्निचर सामग्री, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्ष तथा स्वास्थ्य, खेलकुदका सामग्रीहरु, सूचना, प्रविधि तथा संचारका उपकरणहरुको खरिद विक्रि महोत्सवस्थलबाट गरिनुले व्यापारी तथा उपभोक्ताले यस अवसरबाट भरपूर फाइदा उठाउने आयोजकको दाबी छ।

महोत्सवमा जातजातिका रितिरिवाज तथा सांस्कृतिक कार्यक्रमको प्रस्तुतिले ति जातजातिको पहिचान दिनेछ।

महोत्सवमा प्रस्तुत गरिने झाँकी प्रदर्शनीले सबैको ध्यान खिच्ने आयोजकले विस्वास लिएको छ।

महोत्सवमा आयोजना गरिने रत्यौली गीत प्रतियोगिता र प्रस्तुतीले विशेषगरी महिलाहरुमा आफ्नो कला र सृजनालाई परिष्कृत गर्ने अवसर मिल्नेछ।

महोत्सवमा प्रदर्शन गरिने शैक्षिक प्रदर्शनी, विद्यालयस्तरीय लोकनृत्य खुल्ला चित्रकला प्रतियोगिताबाट विद्यार्थीहरुका लागि आफ्नो प्रतिभा निखार्ने अवसर मिल्नेछ।

सुगम संगीततर्फ पम कन्सर्ट, लाइभ ब्याण्ड, राष्ट्रियस्तरका चर्चित कलाकारहरुबाट प्रस्तुत गरिने लोकदोहरी तथा स्टेज शो (हाँस्यव्यंग) कार्यक्रमबाट महोत्सव हेर्न आउने दर्शकहरुले भरपूर मनोरञ्जनका फाइदा लिन पाउनेछन्।

बालउद्यान, खाना महोत्सव र उत्कृष्ट स्टल पुरस्कारको व्यवस्था गरिएको छ।

जसले, महोत्सवमा थप आकर्षण थप्नेछ।

पोखरा महानगरपालिका–२७ डाँडाकोनाक, तालचोकमा संचालन हुने महोत्सव आगामी माघको १ गतेसम्म चल्नेछ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघ यस महोत्सवको मुख्य आयोजक रहेको छ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी महोत्सवको सह–आयोजक रहेको छ।

पोखरा महानगरपालिका र पर्यटन बोर्ड यस महोत्सवको प्रबर्द्धक रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकले यस महोत्सवको मुख्य प्रायोजन गरेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले महोत्सवको सह–प्रायोजक रहेको छ।

यति एअरलाइन्स महोत्सवको एअरलाइन्स पार्टनर बनेको छ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ महोत्सव आयोजक लेखनाथ उद्योग वाणिज्य संघले मूल नारा तय गरेको छ।

२०५९ र २०६० मा सुन्तला प्रदर्शनीबाट सुरु, २०६१ मा सुपथ मूल्य बजारको लेखनाथ महोत्सवबाट विकास गरिएको यो महोत्सव २० औं संस्करणसम्म आइपुग्दा देशकै महोत्सवमध्ये ठूलो र सफल महोत्सव मानिन्छ।