‘सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ’

संचारमन्त्री गुरुङ भन्छन्, ‘सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको दायित्व हो’

जनसम्मत
पौष १६, २०८१, मंगलवार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताएका छन्।

लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले जानकारी दिए, ‘सही सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको छ।’

मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको दायित्व भएको उल्लेख गरे।

‘सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको छ। अहिले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्नेलाई नियन्त्रण गर्न, साइबर अपराधको अन्त्य गर्न बनेको ‘साइबर सेक्युरिटी ऐन’ ल्याउने तयारीमा सरकार छ’, मन्त्री गुरुङले औंल्याए।

तस्बीरः सुदर्शन रञ्जितको फेसबुक पेजबाट