‘श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन’ को माग

चलचित्र पत्रकार संघको १३ बुँदे चितवन घोषणा–पत्र जारी

जनसम्मत
पौष १६, २०८१, मंगलवार

१३ बुँदे चितवन घोषणा–पत्र जारी गर्दै चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठक चितवनमा सम्पन्न भएको छ।

घोषणा पत्रमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरेको छ।

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो।

कार्यक्रममा मोफसलको पत्रकारिता र मोफसलका हाल संचालन गरिएका संचार माध्यमहरूको विषयमा पनि छलफल गरिएको थियो।

बैठकपछि जारी गरिएको घोषणा–पत्रको तयारी समिति संयोजकमा पत्रकार डब्बु क्षत्री थिए।

क्षत्रीलाई सदस्यहरूले घोषणा–पत्र तयार पार्न सहयोग गरेका थिए।

चलचित्र पत्रकार तथा चलचित्र पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउनेसहितका विषय समेटिएका छन्।

सल्लाहकार समिति, पूर्वअध्यक्षहरू, सबै विभाग तथा जिल्ला अध्यक्षसहितको ३ दिने पूर्ण बैठक संचालन गरेको थियो।

चलचित्र पत्रकार संघका लागि आवश्यक रहेका विभिन्न विभागहरुको गठन गर्ने तथा विभागमा सबैलाई समेटेर लैजाने र सबैको सरसल्लाहबाट विभिन्न प्रस्तावलाई सामूहिकतामा निर्णय गर्दै सम्पन्न पूर्ण बैठकले चलचित्र पत्रकार संघलाई अझ अगाडि बढाउने संकल्प गरेको छ।

संघले हरेक वर्ष जेठ ७ गते स्थापना दिवस तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ। उक्त अवसरमा संघले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ।

सम्मान र पुरस्कारका लागि संघले पाँचौं पूर्ण बैठकबाट कोष खडा गर्ने निर्णय गरेको छ।

बैठकले संघको दोस्रो राष्ट्रिय भेला आउँदो चैतमा गर्ने निर्णय गरेको छ।

बैठकका क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग अन्तक्र्रिया गरिएको थियो।

मोफसलमा नेपाली चलचित्रको बजार र चलचित्र पत्रकारहरूको सम्बन्ध विषयमा संचालन गरिएको अन्तक्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, देशभरबाट प्रतिनिधित्व हुनेगरी ५० जना चलचित्र पत्रकार, चितवनका सिनेमा हल संचालकहरूको सहभागिता थियो।
अन्तरक्रियामा बोर्ड अध्यक्षले आफूले सय दिनमा गरेका कामबारे जानकारीसमेत गराए।