आरव सम्राट हाडा र सुनिरा थापा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन टेनिसको च्याम्पियन बनेका छन्।
२१ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत पोखरामा मंगलबार सम्पन्न प्रतियोगितामा आरव सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका हुन्।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको सम्पन्न फाइनलमा आरव सम्राट हाडाले प्रतिद्वन्दी प्रनव मानन्धर र सुनिरा थापाले सलोनी तामाङलाई हराउँदै च्याम्पियन बनेका हुन्।
मेन्स सिंगल्सतर्फको फाइनलमा आरवले प्रनवलाई ६–१, ६–१ ले पराजित गर्दै च्याम्पियन बने।
त्यसैगरी, सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित हराउँदै च्याम्पियन बनिन्।
च्याम्पियन बनेका आरब र सुनिराले समान ८०/८० हजार रुपैयाँ नगद र ट्रफी पुरस्कार हात पारे।
त्यसैगरी, उपविजेताहरु प्रनव र सलोनीले जनही समान नगद ४०/४० हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गरे।
यस्तै, ३५ वर्ष माथीको सिंगल्समा पूर्व नं १ जितेन्द्र परियारले प्रतिद्वन्दी सन्तोष खत्रीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बने।
जितेन्द्रले ट्रफीका साथ ६० हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए।
उपविजेता सन्तोषले ३० हजार रुपैयाँ नगदका साथमा ट्रफी पुरस्कार हात पारे।
४५ वर्ष माथीको सिंगल्स फाइनलमा कमल भण्डारी बिजेता बने।
विजेता कमलले रोहित सुनुवारलाई ६–०, ६–२ ले पराजित गर्दै विजेत ाबनेका हुन्। बिजेता कमलले ४० हजार रुपैयाँ नगदका साथमा ट्रफी पुरस्कार हात पारे।
उपबिजेता रोहितले २० हजार नगदसहित ट्रफी प्राप्त गरे।
५५ वर्षमाथि मेन्स सिंगलको फाइनल स्पर्धामा चन्द्र शाही बिजयी बने।
चन्द्रले जीवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै विजयी बनेका हुन्।
उनले नगद ३० हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाए।
उपबिजेता जीवनले १५ हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गरे।
बिजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैंकका संस्थापक तथा केसी ग्रुपका डाइरेक्टर किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ प्रतियोगिताका प्रायोजक संस्थाका प्रतिनिधिहरु, प्रतियोगिताका संयोजक नविन चालिसे, संघका कोषाध्यक्ष विष्णुबहादुर थापा, सचिव भिष्मराज पौडेललगायतले नगद तथा ट्रफी पुरस्कार वितरण गरे।
समापन कार्यक्रम संघका अध्यक्ष राजकुमार गुरुङ (राजु)को अध्यक्षतामा भएको थियो।
यहि पुसको गत ११ गतेबाट संचालन भएको प्रतियोगितामा १४० भन्दा बढी खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए।
यसैबीच प्रतियोगितामा बिजेता भेट्रान्स खेलाडीहरुले प्राप्त गरेको नगद राशी पुरस्कार प्रतियोगितामा स्वयंसेवकका रुपमा खटिएका बल ब्वाय (जुनियर टेनिस खेलाडी) हरुलाई हस्तान्तरण गरेका छन्।
उत्तमकुमार शेर्पा, जीत प्रधान र हेमराज ढकालले समान नगद १०÷१० हजार नगद सहयोग हस्तान्तरण गरे।
त्यसैगरी, मनोज राणाले ७ हजार ५ सय तथा जोली टार्जनले २ हजार ५ सय जुनियर टेनिस खेलाडी सन्दीप बिकलाई प्रदान गरे।
प्रतियोगितामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गतका १२ जना टेनिस खेलाडीहरु बल व्वायको रुपमा खटिएका थिए।
यसअघि, फाइनल खेल सुरू हुनुभन्दा अघि पोखरामा रत्नश्री जिमका संस्थापक शंकरमान उदासको निधनमा गहिरो शोक व्यक्त गरिएको थियो।
स्व. उदासको चिर शान्तीको कामनाको साथ एक मिनेट मौन धारण गरिएको थियो।
उदासको सोमबार निधन भएको थियो।