आरव सम्राट हाडा र प्रनव मानन्धर पोखरामा जारी २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत ओपन मेन्स सिंगल्स फाइनलमा भिड्ने भएका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा संचालन भइरहेको प्रतियोगितामा ओपनतर्फ मेन्स सिंगल्समा नेपालका नं १ प्रदिप खडकालाई २–१ सेटमा पराजित गर्दै आरव सम्राट हाडाले प्रनव मानन्धरसँग फाइनलमा भेट पक्का गरेका हुन्।
सोमबार पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा सम्पन्न सेमिफाइनलमा प्रदिप ६–०, ४–६ र ६–१ ले आरवसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका छन्।
प्रनवले निशान श्रेष्ठलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै आरवसँगको उपाधि भिडन्त पक्का गरेका छन्।
मेन्स डबल्सतर्फ निहाल जंगबहादुर थापा र आरव सम्राट हाडाको जोडीले प्रनव मानन्धर र राजविर प्रधानको जोडीलाई फाइनलमा ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै डबल्सतर्फको उपाधि जितेका छन्।
प्रतियोगिता एक दिन लम्बिएसँगै ओपनतर्फ उमेन्स र मेन्सतर्फका फाइनल खेल भोली (मंगलबार) तय गरिएको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिएका छन्।
त्यसैगरी, प्रतियोगिताअन्तर्गत नै पाँचौ दिन केही क्याटोगरीका फाइनल खेलहरु सम्पन्न भएका छन्।
जसमध्ये ६५ वर्षमाथिको मेन्स िसिंगल्स फाइनलमा बिदुर विष्टले ध्रुब गुरुङलाई सुपरटाई म्याचमा हराएका छन्।
बिदुरले ४–२, २–४ र ९–७ ले फाइनल खेल आफ्नो पक्षमा पारे।
३५ वर्ष माथि उमेर समुहको मेन्स डबल्स फाइनलमा जितेन्द्र परियार र कुमार अधिकारीको जोडीले एस तोगबे र पी नोर्वुको जोडीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे।
३५ वर्ष माथिको मेन्स सिंगल्समा पूर्व नं १ जितेन्द्र परियार उपाधि नजिक पुगेका छन्।
सम्पन्न सेमीफाइनलमा उनले सिमान्त गुरुङलाई ६–०, ६–१ को सोझो सेटमा पाखा लगाए।
जितेन्द्रले फाइनलमा सन्तोष खत्रीसाग भेट पक्का गरेका छन्।
सन्तोषले भिष्मजंग गुरुङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनल पुगेका हुन्।
४५ वर्ष माथिको डबल्स फाइनलमा चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीले हेमराज ढकाल र मानबहादुर कटुवालको जोडीलाई ६–०, ६–३ ले पराजित गर्दै उपाधि जितेका छन्।
यसैगरी, ४५ वर्ष माथिको मेन्स सिंगल्सको फाइनलमा रोहित सुनुवार र कमल भण्डारीले उपाधि यात्रा सुरक्षित गरेका छन्।
सम्पन्न सेमिफाइनलमा रोहितले हेमराज ढकाललाई ६–३, ६–१ ले पराजित गर्दै फाइनल यात्रा गरे।
त्यस्तै, कमलले छेवाङ लामालाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा राोहितसँगको भेट पक्का गरे।
६५ वर्ष माथिको मेन्स डबल्सको फाइनलमा बिदुर विष्ट र मनोज राणाको जोडीले ध्रुव गुरूङ र रबीन्द्रको जोडीलाई ४–२, ४–१ को सोझो सेटमा पराजित गर्दै विजेता बने।
यसैगरी, ५५ वर्ष माथिको फाइनलमा जीवन घिमिरे र चन्द्र शाही उपाधिका लागि फाइनल भिड्ने भएका छन्।
जीवनले सुपरटाई म्याचमा ६–०, ६–७ र १०–५ ले उत्तम बोगोटीलाई हराउँदै फाइनल यात्रा गरे।
यस्तै, चन्द्रले तुलेश्वर सिंहलाई ६–४, ६–१ ले सेमिफाइनलमा पराजित गर्दै जीवनसँगको फाइनल भेट पक्का गरे।
५५ वर्ष माथिको मेन्स डबल्समा युगेन शेर्पा र जीत प्रधानको जोडी बिजयी भएको छ। उनीहरुले जीवन घिमिरे र सुदर्शन विष्टको जोडीविरुद्ध ६–३, ६–२ ले जित निकाल्दै बिजयी बने।
आजको खेलमा बिजयी खेलाडीहरुलाई कास्की टेनिसका उपाध्यक्ष नवीन चालिसे र कोषाध्यक्ष विष्णुबहादुर थापाले नगद, मेडल, ट्रफी पुरस्कार वितरण गरे।