अंग्रेजी नयाँ वर्ष २०२५ को आगमनसँगै तनहुँको बन्दीपुरमा ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ को शुभारम्भ भएको छ।
‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ को शुभारम्भ गरिएको हो।
नेपालको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठलगायतले ‘भ्रमण वर्ष’ को आज (बुधबार) शुभारम्भ गरेका हुन्।
बन्दीपुरमा हाल वार्षिक १ लाख पर्यटक पुग्ने गरेकोमा त्यसलाई दोब्बर बनाउँदै त्यहाँको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित सो गाउँपालिकाले ‘भ्रमण वर्ष’ को आयोजना गरेको हो।
‘भ्रमण वर्ष’ का क्रममा त्यहाँ पुग्ने पर्यटकहरुका लागि बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने २ दिनको प्याकेज बनाइएको छ।
‘भ्रमण वर्ष’ का संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बास बसेर खर्च गर्न सक्ने पर्यटक भित्राउने लक्ष्य लिइएको जानकारी दिएका छन्।
‘भ्रमण वर्ष’ का अवसरमा एक वर्षमा २४ सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि संचालन गरिने उनको भनाई छ।
बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान गरी तिनिहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रियस्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने ‘भ्रमण वर्ष’को उद्देश्य रहेको जनाइएको छ।
खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल त्यहाँ पुग्ने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ।