तनहुँको भानु नगरपालिकाले पनि पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको छ।
नगरपालिकाले नगरवासीको सहजताको लागि पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको जनाएको छ।
नगरपालिकाले सबै वडाहरूमा पालैपालो राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो।
यसअघि नै तनहुँका अन्य नगरपालिकाले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेपनि भानु नगरपालिकाले भने यो काम गर्न बाँकी थियो।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको पहलमा पहिलो पटक नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको हो।
नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र पाउने भएपछि नगरवासी खुसी छन्।
यसअघि जिल्ला प्रशासन कार्यालयमा लामो लाइन लागेर पनि राष्ट्रिय परिचयपत्र पाउन नसकेका नागरिकले अब पालिकाबाटै राष्ट्रिय परिचयपत्र पाउने भएका हुन्।
पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरणका लागि जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य गरेको छ।
राष्ट्रिय परिचयपत्र लिन स्वयं व्यक्ति नै उपस्थित भएर बायोमेट्रिक गराएर रुजु गरेर मात्र लैजान सकिने पालिकाले जनाएको छ।
परिवारको अन्य सदस्य, आफन्त, छिमेकी वा अरू व्यक्ति लिन आएर परिचयपत्र लैजान पाइने छैन।
परिचयपत्र लिन आउँदा अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्रसम्बन्धी आवेदन रुजु फाराम लिएर आउनुपर्ने पालिकाले जनाएको छ।