बागलुङ जिल्लाका स्थानीय पालिकाहरुमा ‘वडा सदस्य मञ्च’ गठनमा तीब्रता लिएको छ।
बागलुङ जिल्लाको गृहपालिका बागलुङ नगरपालिकाबाट सुरु गरिएको वडा सदस्यहरुको मञ्च गठनको कार्य अहिले जिल्लाको अन्य पालिकाहरुमा पनि पहल थालिएको छ।
जिल्लाका स्थानीय तहहरुमा वडा सदस्य मञ्च गठन प्रकृयाले गति लिन थालेको हो।
गत वर्ष बागलुङ नगरपालिकाका वडा सदस्यहरुको भेलाले मञ्च गठन गरेको थियो।
मञ्चले जिल्लाका सबै पालिकामा मञ्च गठनका लागि पहल थालेको हो।
वडा सदस्यहरुले आफ्नो हकहित र अधिकारका लागि मञ्च गठन गर्न थालेका हुन्।
वडा सदस्य मञ्च बागलुङ नगरपालिकाले बिहिबार जिल्लाको काठेखोलाका कार्यबहाक अध्यक्ष तेजबहादुर थापासहित कार्यपालिका सदस्य र वडा सदस्यलाई भेटेर मञ्च गठनको पहल गरेको छ।
वडा सदस्य मञ्च बागलुङका संयोजक अर्जुन घिमिरेका अनुसार संविधानले तोकेका काम, कर्तव्य र अधिकार प्रयोगका लागि मञ्च गठन गर्नुपरेको हो।
घिमिरेको भनाई छ, ‘भुमिकाविहीन वडासदस्यलाई कृयाशील बनाउन, वडा र पालिकाका काममा थप सहयोगी बन्न वडा सदस्यलाई प्रेरित गर्नेगरी मञ्च गठन गर्न थालिएको हो।’
पालिकाभित्रको चौतर्फी विकासमा टेवा पु-याउन मञ्च गठन गरिएको हो।
काठेखोलाका कार्यबहाक अध्यक्ष तेजबहादुर थापाले बागलुङ नगरपालिकाको वडा सदस्य मञ्चका पदाधिकारीसँगको भेटघाटमा भने, ‘रचनात्मक कामका लागि गठन हुने युनियनहरुलाई गाउँपालिकाले स्वागत गर्दछ।’