बागलुङ नगरपालिका–९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

१४ वडा रहेको नगरपालिकाको अब ८, १० र १२ नं वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न बाँकी छ

जनसम्मत
पौष १८, २०८१, बिहीवार

बागलुङ नगरपालिका–९, तित्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।

पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियानअन्तर्गत बागलुङ नगरपालिकाको वडा नं ९ तित्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो।

यसअघि, बागलुङ नगरपालिकाको वडा नम्वर ४, १३, १४, ११, १, २, ५,६, ७ र ३ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिसकेको छ।

अब ८, १० र १२ नम्बर वडालाई घोषणा गर्न बाँकी रहेको र घोषणाको समय पनि तोकिएको छ।

गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दिपेन्द्रबहादुर थापाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन्।

बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको प्रतिवेदन प्रस्तुत गरे।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बालमैत्री स्थानीय शासनयुक्त घोषणालाई कार्यान्वयनमा लैजानका लागि सबैको सहकार्य आवश्यक रहेको औंल्याए।

उनले भने, ‘पछिल्लो समय गाउँबाट बजार झर्नेको संख्या बढ्दै गएपछि विद्यार्थीको संख्या घट्दै गएको छ। अब गाउँमा थोरै विद्यालय तथा आवासीय सुविधासहितको हुनु पर्छ। शिक्षालाई गुणस्तरीय, व्यवहारीक र जीवनउपयोगी गराउनु पर्छ। गाउँमा विकास जाने तर मानिस सबै बजार झर्ने गरेको छ।’

कार्यक्रममा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गरे।

पुसको मसान्तसम्म नगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिने लक्ष्य राखेको खड्काको भनाई छ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव गणेश थापा, समन्वय समितिका सदस्य हरिकला पौडेल, बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति सीता शर्मा, सीवाइसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्का, तित्याङ माविका प्रधानाध्यापक कुमारप्रसाद उपाध्याय, तित्याङ स्वास्थ्य चौकीका प्रमुख नारायणप्रसाद पौडेल, स्थानीय बाल संजालका अध्यक्ष निश्चल थापा र तित्याङ माविका बिद्यार्थी कवुल थापालगायतले मन्तव्य राखेका थिए।

घोषणा पूर्व स्थानीयवासी, जनप्रतिनिधी, बिद्यार्थी, शिक्षक, अभिभावकलगायतको सहभागीतामा भजनकीर्तन, पञ्चेवाजा, झाँकीसहितको र्‍याली प्रदर्शन गरिएको थियो।

वडाध्यक्ष राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राजु खड्काले स्वागत गरेका थिए।

टिका थापा र इन्द्रा खड्काले कार्यक्रम संचालन गरेका थिए।