‘पत्रकारितामा मिस इन्फर्मेशन (झुटा सूचना) देखि सावधान’

गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदी भन्छन्, ‘झुटो सूचनाले समाजलाई नकरात्मक बाटोतर्फ लगेको छ’

जनसम्मत
पौष १५, २०८१, सोमबार

गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले संचार माध्यम र सामाजिक सञ्जाल माध्यममार्फत आउने मिस इन्फर्मेशन (झुटा सूचना) लाई कम गर्नुपर्नेमा जोड दिएका छन्।

प्रेस युनियन बागलुङले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद सुवेदीले आग्रह गरे, ‘यसतर्फ स्वयं पत्रकारहरु सचेत बन्नुपर्छ।’

उनले झुटो सूचनाले समाजलाई नकरात्मकतातर्फ लगेको बताए।

झूटो सूचना रोक्न स्वयं संचारकर्मीसहित सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिए।

उनले बागलुङको पत्रकारिता अब्बल रहेको समेत औंल्याए।

उनले भने, ‘बागलुङमा बसेर पत्रकारिता गरि रहनुभएका साथीहरुपनि अब्बल हुनुहुन्छ। यहाँ छोडेर केन्द्रको पत्रकारिता गरिरहनु भएका साथीहरु पनि अब्बल हुनुहुन्छ। पहिलादेखि अहिलेसम्मको पत्रकारितामा बागलुङ अब्बल छ, यसमा धार भने लगाइरहनुपर्छ।’

उनले नेक्स्ट स्टेप (अर्को कदम) को पत्रकारिताको लागि लाग्नुपर्ने बताए।

‘पत्रकारिताको विकासको लागि लगानी बढाउनुपर्छ। स्वयं पत्रकारिता प्रबिधिमैत्री हुनुपर्छ। पत्रकारहरुले खोजी पत्रकारिता गरिनुपर्छ। नयाँ पत्रकार उत्पादनको लागि लाग्नुपर्छ’, उनको सुझाव थियो।

कार्यक्रममा नेपाली काँग्रेसका जगन्नाथ आचार्य, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, प्रेस चौतारी बागलुङका अध्यक्ष सिर्जना पन्त, प्रेस सेन्टर नेपालका मुकेशचन्द्र राजभण्डारी, प्रगतिशील पत्रकार संघका विजय रानाले मन्तव्य राखेका थिए।

प्रेस युनियन बागलुङले सोमबार पत्रकार महासंघ बागलुङका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन एवं ‘बागलुङको पत्रकारिता हिँजो, आज र भोली’ विषयक विमर्श कार्यक्रम आयोजना गरेको हो।

प्रेस युनियनका केन्द्रीय पार्षद प्रकाश बरालले ‘ बागलुङको पत्रकारिता हिजो, आज र भोली’ विषयक अवधारणा–पत्र प्रस्तुत गरे।

अवधारणामाथि टिप्पणी गर्दै अधिवक्ता राम शर्माले बागलुङको पत्रकारितालाई थप निखार्नु पर्ने प्रतिक्रिया जनाए।

‘पछिल्लो समयको पत्रकारिता, स्वार्थसँग बाझिने गरेको छ, पत्रकारहरु स्वयं व्यवसायिक बन्न सक्नुपर्छ’, शर्माले सुझाब दिए।

प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तिको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष सुवास आचार्यले समापन गरेका थिए।

प्रेस युनियन बागलुङका डम्मर बुढामगरले कार्यक्रम संचालन गरेका थिए।