उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ५ शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ।
सो अस्पतालले (बुधबार) देखि स्वास्थ्य सेवा संचालनमा ल्याएको छ।
देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार धार्चे गाउँपालिकाले सो अस्पताल संचालनमा ल्याएको हो।
धार्चे गाउँपालिका–३, खोर्लाबेसीस्थित गाउँपालिका र स्वीट्जरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छायाँ नेपालको समन्वयमा निर्माण भएको यस अस्पतालको भवन निर्माण गरिएको हो।
कूल २ करोड २८ लाखको लागतमा अस्पताल भवन निर्माण गरिएको हो।
जसमध्ये, ४० प्रतिशत रकम गाउँपालिकाले र बाँकी ६० प्रतिशत रकम अर्थ सी एयरले व्यहोरेको गाउँपालिकाकाले जनाएको छ।
नवनिर्मित अस्पताल संचालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणले घर नजिकै आधारभूत स्वास्थ्योपचार सेवा पाउने भएका छन्।