तनहुँको आँबुखैरेनी अस्पतालमा पहिलो पटक शल्यक्रियासहितको प्रसुती सेवा सुरु

गोरखा जिल्ला पालुङटारकी २० वर्षीया महिलाको सफल शल्याक्रिया गरेर नवजात शिशुको जन्म दिइएको हो

जनसम्मत
पौष १७, २०८१, बुधबार

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालमा शल्यक्रियासहितको प्रसुती सेवा सुरु गरिएको छ।

अस्पतालले हिँजो (मंगलबार) साँझ स्थानीय एक महिलाको पहिलो पटक शल्यक्रियामार्फत प्रसुती सेवा सुरु गरेको अस्पतालले जनाएको छ।

गोरखा जिल्ला पालुङटारकी २० वर्षीया महिलाको सफल शल्याक्रिया गरेर नवजात शिशुको जन्म दिइएको हो।

अस्पतालका प्रमुख डा. डीबी क्षत्री, मेडिकल अधिकृत डा. अविनासकुमार रौनियार, एनेस्थेसिया सहायक भानु अर्याल, नर्सहरु सीमा सापकोटा क्षत्री, सविता बिष्ट, पूजा रावल, मिना श्रेष्ठलगायतको टोलीले शल्यक्रियामार्फत प्रसुती गराइएको हो।

शल्यक्रियामार्फत जन्मिएका नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. डीबी क्षत्रीले जानकारी दिएका छन्।

२० वर्ष उमेरकी गर्भवती महिला, ३९ हप्ताको गर्भ, ४२ घण्टादेखि पानी बगिरहेको, बच्चा खेल्ने पानीको मात्रा कम भएको र मुटुको चाल नियमित नभएको, पेटमै बच्चाले दिशा गरेको, सुत्केरी वेथा नभएको अवस्थामा आकस्मिक शल्यक्रिया गरिएको डा. क्षत्रीले बताएका छन्।

आँबुखैरेनी गाउँपालिकाले शल्यक्रियामार्फत प्रसुती सेवा दिनका लागि यही पुस महिनादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत लिएको थियो।

आँबुखैरेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शुक्र चुमान अस्पताल पुगेर नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

सो गाउँपालिका अध्यक्षसमेत रहेका चुमानले अस्पतालमा पहिलो पटक प्रसुती सेवा सुरु गरेपछि अस्पतालले नागरिकलाई दिने स्वास्थ्य सेवमा एक कदम अघि फड्को मारेको प्रतिक्रिया दिए।

हाल, अस्पतालले सानो, ठूलो शल्यक्रियाको सेवा प्रदान गर्दै आएको छ।

अस्पतालले गत मंसीरको २२ गते र पुसको १३ गते हर्नियाको सफल शल्यक्रिया गरेको थियो।