अबदेखि, विद्यार्थीहरुले घरमा काम गरेको पनि अंक पाउँदैछन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरेर नम्बर दिने निर्णय गरेको छ।
परीक्षामा लेखेको आधारमा मात्र मूल्यांकन गर्न नहुने भन्दै मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामलाई मूल्यांकनमा जोड्न नम्बर दिने निर्णय गरेको हो।
शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्यांकनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ।
मूल्यांकनको विधि पाठ्यक्रम विकास केन्द्रले बनाउने हो।
विज्ञसँग छलफल गरेर १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन मन्त्री भट्टराईले निर्देशन दिएकी छिन।
कति लेख्छ भन्ने आधारमा नभएर विद्यार्थीको मूल्यांकन गर्दा बहुपक्षीय ढंगले गर्नुपर्छ भन्दै शिक्षा मन्त्री भट्टराईले आन्तरिक मूल्यांकनको विधिलाई परिवर्तन गर्ने निर्णय गरिएको बताएकी छिन्।
पछि समस्या नआउनेगरी कुन विधिबाट जाने भनेर विज्ञको राय सुझावको आधारमा बनाउने उनले उल्लेख गरेकी छिन्।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले मूल्यांकनको विधि छिट्टै बनाएर कार्यान्वयनमा लैजाने जानकारी दिएका छन्।
शैक्षिक सत्र २०८२ देखि लागू गर्नेगरी काम गरिरहेको पनि उनले बताए।
मन्त्रालयले श्रम र सीपलाई सम्मान गर्न राम्रा कुरालाई पाठ्यक्रममा समावेश गर्न लागेको हो।
‘विद्यार्थीले पढ्ने भनेको किताब वरिपरिको मात्र हो भन्ने छ। अब, श्रम र सीपलाई सम्मान गर्न समाजको राम्रो कुरालाई पाठ्यक्रममा जोड्न लागेको हो’, मन्त्री भट्टराईले बताइन्।