पोखरा महानगरभित्र संचालन हुने कक्षा ८ को परीक्षामा होम सेन्टरको प्रावधान हटाइएको छ।
परीक्षालाई थप व्यवस्थित गर्न परीक्षा केन्द्रहरु तोकिने भएको छ।
होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा संचालन गरिने भएको हो।
शुक्रवार बसेको सरोकारवालासहितको महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख धनराज आचार्यले बताएका छन्।
आचार्यले भने, ‘महानगर क्षेत्रमा संचालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो। यसले विद्यार्थीहरूलाई एसईई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्नेछ। हालको परीक्षा संचालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन। यो आफ्नै विद्यालयमा तल्लो तहका नियमित परीक्षाका रूपमा जस्तै सीमित भयो। अव, यसलाई उनीहरूको निकट भविष्यमा हुने विद्यालय तहको निकै महत्वपूर्ण मानिने एसईई परीक्षाको पूर्व अभ्यासका रूपमा विकास गर्नु पर्दछ। ताकी, विद्यार्थी मानसिक रूपमा पनि त्यसका लागि तयार होस्।’
यसो गर्दा कक्षा ८ का विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा नयाँ अनुभूति पनि हुने र, यो एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा समेत महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले उल्लेख गरे।
महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले महानगरपालिकाले विद्यार्थीहरूको सिकाई प्रवद्र्धनका लागि विभिन्न किसिमका रचनात्मक उपायहरू अवलम्बन गर्दै आइरहेको औंल्याए।
सोहीअनुसार, आधारभूत तहको परीक्षा प्रणालीमा सुधारसहित यसलाई समयानुकूल बनाउन लागिएको उनले उल्लेख गरे।
‘यसले अन्तर विद्यालय विद्यार्थी घुलमिल, नयाँ साथीहरूसँग उनीहरूको भेटघाट, नवीन वातावरणमा सामञ्जस्ययता, आफ्नो विद्यालय र अन्य विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको अनुभूति लगायतमा विद्यार्थीहरूलाई नयाँ सिकाई प्रदान गर्ने विश्वास गरिएको छ’, शिक्षा महाशाखाका प्रमुखआचार्यको भनाई थियो।
शिक्षा समितिको बैठकले परीक्षा संचालनका लागि विद्यार्थीहरूलाई पायक पर्ने गरी ३३ वटा परीक्षा केन्द्रहरू उपयुक्त हुने प्रस्ताव समेत गरेको छ।
तर, विद्यालय शिक्षाका सरोकारवाला (प्याव्सन, एन प्याव्सन, युनिप्स र पेसागत संघसंगठन) हरूसँग आवश्यक छलफल तथा परामर्श गरी यसलाई टुंग्याइने बताइएको छ।
परीक्षा केन्द्र तोक्दा सामान्यतया परीक्षा संचालन प्रणालीको मापदण्डका आधारमा विद्यार्थीहरूलाई पायक पर्ने गरी नै तोकिएको समितिले जनाएको छ।
यस वर्ष पोखरामा १० हजार ५२२ जना विद्यार्थीहरू कक्षा ८ को परीक्षामा सहभागी हुनेछन्।
जसमध्ये, ६ हजार ५ सय संस्थागत विद्यालयका विद्यार्थीहरु छन्।
४ हजार २२ जना विद्यार्थीहरु सामुदायिक विद्यालयका छन्।
महानगरपालिकामा ८ हजार बढी विद्यार्थीहरू सामुदायिक विद्यालयहरूमा थपिएका छन्।
यसलाई व्यवस्थित गर्न हरेक सामुदायिक विद्यालयहरूमा बालविकासका कक्षाहरू अनिवार्य गरिएको छ।
यसले महानगरपालिकाभित्रको शिक्षालाई व्यवस्थित गर्न र आधारभूत तहको शिक्षाको पहुँचमा सबै विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न मद्दत पुगेको छ।