पोखरा–१५ मा बृहत् खेलकुद महोत्सवको तयारी तीव्र

‘राइट फर चिल्ड्रेन’ लगायतका संघसंस्थाहरुको सहयोग

जनसम्मत
पौष १९, २०८१, शुक्रबार

पोखरा–१५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्न लागेको बृहत खेलकुद महोत्सवको तयारी तीब्रताका साथ अगाडि बढाएको छ।

महोत्सव संयोजक तथा वडासदस्य आशिष भण्डारीकाअनुसार अघिल्ला दुई महोत्सवभन्दा यस पटकको खेलकुद महोत्सवलाई थप परिस्कृत र भव्य रूपमा सम्पन्न गर्नेगरी तयारी अघि बढाइएको छ।

वडास्थित विभिन्न संघसंस्थाले पनि सहयोगी हात अघि बढाएका छन्।

बालबालिकाको क्षेत्रमा कार्यरत ‘राईट फर चिल्ड्रेन’ ले पनि संस्थागत सहयोग गर्ने भएको छ।
खेलकुद महोत्सव सहयोगार्थ उक्त संस्थाले २ लाख ५० हजार रकम प्रदान गर्ने सम्झौता गरेको छ।

संस्थाले फोटो तथा भिडियोग्राफी, डिजिटल बोर्ड डिस्प्ले, खेलाडी जर्सी, साउण्ड सिस्टम तथा टेन्ट, कुर्ची व्यवस्थापनका लागि सहयोग गर्नेछ।

वडा कार्यालयका तर्फबाट वडाध्यक्ष तोरणबहादुर बानियाँ तथा ‘राईट फर चिल्ड्रेन’का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृति श्रेष्ठले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा महोत्सव संयोजक एवं वडासदस्य आशिष भण्डारी, वडासदस्य बलराम पौडेल, वडासचिव युवराज पौडेल, ‘राईट फर चिल्ड्रेन’ का परियोजना प्रवन्धक सन्तोष गुरूङ, अधिकृत लक्ष्मी गौतमलगायतको उपस्थिति रहेको थियो।

वडाध्यक्ष बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा अनुरुप स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गीण विकास गर्न केन्द्रीत रही महोत्सवलाई निरन्तरता दिइएको बताए।

उनले यस्ता गरिमाामय संघसंस्थाको सहयोगबाट वडा उत्साहित बनेको र आफूहरुको अभियानलाई अघि बढाउन मद्धत पुग्ने औंल्याए।

‘राईट फर चिल्ड्रेन’ ले पोखरा १५ मा समुदायमा आधारित कार्यक्रम शिशु स्याहार केन्द्र (ईसीडी) शिवशक्ति टोल, निर्मल टोल, गैह्रीगाउँ र पट्नेरीमा संचालन गरिरहेको छ।

यस्तै, स्वास्थ्य शिविरहरु, शिक्षासम्बन्धी कार्यक्रममा पनि सहयोग गरिरहेको छ।

बालबालिकालाई पूरक कक्षा, माध्यमिक तहका विद्यार्थीहरूलाई वृत्ति परामर्श दिएर वडासँग समन्वय सहकार्य गरिरहेको परियोजना प्रवन्धक सन्तोष गुरुङले उल्लेख गरेका छन्।

वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो।

माघ ६ गतेसम्म ५ दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्कीलगायतका खेलमा प्रतिस्पर्धा हुनेछ।

‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ।

वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडास्थित विभिन्न संघसंस्थाका खेलकुदस्थलमा प्रतियोगिता संचालन हुनेछ।