कास्की जिल्ला माछापुच्छ्रे् गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक समितिको सम्मेलन सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले कार्यक्रममा बोल्दै मेलमिलापकर्ताहरुले प्रशिक्षणको भरमा काम गर्दा कठिनाइहरु रहने औंल्याए।
‘न्यायिक समितिमा सम्बन्धित कानुन अध्यन गरेको व्यक्ति नै राख्न सके थप सहज हुन्छ’, गुरुङको सुझाव छ।
मेलमिलापकर्ताले बास्तविक पीडितले न्याय पाउनेगरी जनताको हितमा काम गर्न आग्रह समेत गरे।
उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सीता अधिकारीले न्यायिक समितिको काम कारबाहीलाई व्यवस्थित, पभावकारी बनाउन सम्मेलनको आयोजना गरेको औंल्याइन्।
‘न्यायिक समितिको काम कारबाहीलाई व्यवस्थित, पभावकारी र गुणात्मक बनाउन, न्यायिक समितिका पदाधिकारीबीच निरन्तर सम्र्पक, समन्वय र न्यायमा एकरुपता दिने उदेश्यले सम्मेलनको आयोजन गरिएको हो’, उपाध्यक्ष अधिकारीले प्रष्ट पारिन्।
गाउँपालिका शुशासन समिति संयोजक एवं प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष गणेश आचार्यले सम्मेलन महत्वपूर्ण भएको बताए।
‘स्थानीय तहका न्यायिक समितिलाई कतिपय मेलमिलाप पद्धतिको अनुभव र प्रक्रियामा समस्या हुने भएकाले यस्ता महत्वपूर्ण सम्मेलनले थप सहजीकरण र सहज हुन्छ’, वडाध्यक्ष आचार्यको भनाई थियो।
प्रमुख प्रशासकीय अधिकृत गोपिकृण अर्यालले मेलमिलापले न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माण गर्नेमा जोड दिए।
अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक चन्द्रकला अधिकारीले जनताको न्यायमा पहुँचको अधिकारलाई रक्षा गर्न सकिने उल्लेख गरिन्।
उपाध्यक्ष अधिकारीले औल्याइन, ‘मेलमिलाप प्रक्रियामा दुबै पक्षबीचको सहमतिबाट विवादको समाधान हुने भएकाले मेलमिलापकर्ताले आफ्नो क्षेत्राधिकारको पूर्ण प्रयोग गरेर मेलमिलापको माध्यमबाट नै जनताको न्यायमा पहुँचको अधिकारलाई रक्षा गर्न सकिन्छ।’
रुपा गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक लालसुभा गुरुङले लक्षित वर्गलाई सहज रुपमा न्याय दिलाउनुपर्नेमा जोड दिइन्।
गुरुङले भनिन्, ‘मुद्दा, अदालतमा प्रवेश गर्नुपुर्व नै कानूनी मर्म र धर्ममा रहेर न्यायिक समितिको छलफलबाट सचेत गराउन सकिन्छ। समयमै, समस्याको समाधान गर्न सकियो भने लक्षित वर्गले सहजरुपमा न्याय पाउँछ।’
मुख्य प्रशिक्षक उपन्यायाधिवक्ता गोपाल ढकालले सम्मेलनमा मेलमिलाप पद्धतिका आधाभूत अवधारण तथा मेलमिलापकर्ताको आचारसंहिताको पालनाको स्थिति, मेलमिलापको बर्तमान अवस्था, हासिल भएका उपलव्धी, देखिएका समस्या तथा भावी कार्यदिशा, अदालत प्रेषित मेलमिलापः वर्तमान अवस्था र सुधारका क्षेत्रलगायतका बिषयमा प्रशिक्षण दिएका थिए।
सम्मेलनमा कास्की जिल्लाका स्थानीय तहका न्यायिक समितिका संयोजक, न्यायिक समिति पदाधिकारीलगायत माछापुच्छ्रे् गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरुको समेत उपस्थिति थियो।
माछापुच्छ्रे् गाउँपालिका उपाध्यक्ष एंव न्यायिक समिति संयोजक सीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत न्यायिक समिति सदस्य जमुना पुनले र संचालन महिला तथा बालबालिका शाखा प्रमुख ज्योति पौडेलले गरेकी थिइन्।